काठमाडौं । विश्व फुटबलको महाकुम्भ– फिफा विश्वकप २०२६ बिहीबार मध्यरातिबाट सुरु हुँदैछ । ऐतिहासिक समारोहसँगै सुरु हुन लागेको यसपटकको विश्वकप अघिल्ला सबै संस्करणभन्दा फरक हुनेछ । किनभने यसपटकको विश्वकप पहिलोपटक तीन देश– अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रुपमा आयोजना गर्दैछन् ।
१०४ खेल, ४८ टोली र १६ आयोजक शहर । जुन ११ मा मेक्सिकोबाट सुरु भएर जुलाई १९ मा न्यूयोर्कमा समापन हुने विश्वकपको सुरुआत तीनवटै आयोजक राष्ट्रमा हुने विशेष उद्घाटन समारोहमार्फत गरिनेछ ।
विश्वकप अनि उद्घाटन समारोहका बारेमा चलेको ‘हाइप’ वास्तवमा के हो ?
यसपटकको विश्वकप उद्घाटन समारोह एउटै शहरमा सीमित रहने छैन । मेक्सिको सिटी, टोरन्टो र लस एन्जलसमा क्रमिक रुपमा आयोजना गरिने तीनवटा समारोह एउटै साझा अवधारणा (थीम)मा आधारित हुनेछन् ।
प्रसिद्ध अन्तर्राष्ट्रिय क्रियटिभ निर्देशक मार्को बालिचको नेतृत्वमा तयार गरिएका यी कार्यक्रमहरुले फुटबल प्रेमीलाई भाषा र संस्कृतिभन्दा माथि उठेर एकतामा बाध्ने सन्देश दिने संकल्प लिएको छ । यसबीच प्रत्येक देशले आफ्नो सांस्कृतिक पहिचानलाई फरक शैलीमा प्रस्तुत गर्नेछन् ।
मेक्सिकोले ‘पापेल पिकाडो’ कलामार्फत आफ्नो संस्कृति देखाउनेछ भने क्यानाडाले ‘सांस्कृतिक मोजाइक’ अर्थात विविधतामा एकताको भाव प्रस्तुत गर्नेछ । अमेरिकाले आधुनिक प्रविधि र चम्किलो दृश्य प्रभावमार्फत आफ्नो पहिचान झल्काउनेछ ।
मेक्सिको शहरबाट हुनेछ औपचारिक सुरुआत (जुन ११)
विश्वकपको पहिलो उद्घाटन समारोह जुन ११ मा मेक्सिको सिटी स्टेडियममा हुनेछ । प्रतियोगिताको पहिलो खेलअघि आयोजना हुने समारोहले मेक्सिकन संस्कृति, परम्परा र कलालाई विश्वसामु प्रस्तुत गर्नेछ ।
आदिवासी कलाकारहरुको प्रस्तुति, लोकनृत्य तथा सांस्कृतिक कार्यक्रम समारोहका मुख्य आकर्षण हुनेछन् । साथै संगीत क्षेत्रका अन्तर्राष्ट्रिय तथा ल्याटिन अमेरिकी स्टारहरुले पनि प्रस्तुति दिने छन् ।
समारोहमा शाकिरा, बर्ना ब्वाय, जे बाल्भिन, टाइला, अलेजान्द्रो फर्नान्डेज, बेलिन्डा, ड्यानी ओसन, लिला डाउन्स, लस एन्जेल्स अजुलेस र मानाजस्ता कलाकारहरु देखिन सक्ने अपेक्षा छ ।
उद्घाटन समारोहपछि विश्वकपको पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्नेछ । खेल नेपाली समयअनुसार खेल मध्यराति १२ः४५ बजे हुनेछ । उद्घाटन समारोह ८ः४५ बजेबाट हुनेछ ।
टोरन्टो, क्यानाडा (जुन १२)
जुन १२ मा टोरन्टोमा क्यानाडाको उद्घाटन समारोह आयोजना हुनेछ । यो क्यानाडाका लागि विशेष अवसर हुनेछ । किनभने पुरुष राष्ट्रिय टोलीले पहिलोपटक आफ्नै भूमिमा विश्वकप खेल्दैछ ।
मेक्सिको र अमेरिकासँग विश्वकप आयोजना गरिसकेको अनुभव छ । क्यानाडा पहिलोपटक यति ठूलो प्रतियोगिता ‘होस्ट’ गर्दैछ । त्यसैले पनि सम्पूर्ण क्यानेडियन जनताका लागि यो विशेष दिन हुनेछ ।
‘फ्रम कोस्ट टु कोस्ट टु कोस्ट’ अर्थात देशको पूर्वदेखि पश्चिम र उत्तरसम्मको यात्रालाई चित्रण गर्ने विशेष प्रस्तुति समारोहको मुख्य विषय रहनेछ । क्यानाडाको बहु–सांस्कृतिक समाज, विभिन्न समुदाय र राष्ट्रिय पहिचानलाई संगीत तथा दृश्यमार्फत प्रस्तुत गरिनेछ ।
समारोकमा अलानिस मेरिसेट, अलेसिया कारा, माइकल बुब्ले, जेसी रेयेज, नोरा फतेह, एलियाना सन्जोय, भेगेड्रिम र विलियम प्रिन्सलगायत कलाकारहरुले प्रस्तुति दिने अपेक्षा गरिएको छ ।
समारोहपछि क्यानाडाले बोस्निया एन्ड हर्जेगोभिनासँग खेल्दै घरेलु विश्वकप अभियान सुरु गर्नेछ । खेल नेपाली समयअनुसार मध्यराति १२ः४५ बजे हुनेछ । उद्घाटन समारोह राति ११ः१५ बजेबाट हुनेछ ।
लस एन्जलस (जुन १२)
अमेरिकाको उद्घाटन समारोह पनि जुन १२ मा लस एन्जलसमा आयोजना हुनेछ । मनोरञ्जन केन्द्र मानिने शहरमा आयोजना हुने यो कार्यक्रमले अत्याधुनिक प्रविधि र अन्तर्राष्ट्रिय संगीतको बेजोड प्रस्तुति दिनेछ ।
कार्यक्रममा केटी पेरी, फ्युचर, अनिट्टा, लिसा, रेमा र टाइला जस्ता विश्वप्रसिद्ध कलाकारहरुले प्रस्तुति दिने सम्भावना छ । आयोजकहरुका अनुसार यो समारोहले अमेरिकाको सांस्कृतिक विविधता र विश्व मनोरञ्जन क्षेत्रमा रहेको प्रभावलाई झल्काउनेछ ।
समारोहपछि अमेरिकाले पाराग्वेसँग खेल्दै घरेलु विश्वकप अभियान सुरु गर्नेछ । खेल नेपाली समयअनुसार बिहान ६ः४५ बजे हुनेछ । उद्घाटन समारोह बिहान ५ः१५ बजेबाट हुनेछ ।
कसरी हेर्ने ?
नेपालमा यसपालीको विश्वकप हिमालय स्पोट्र्स च्यानलबाट प्रसारण हुनेछ भने डिजिटलतर्फ डीगो एपमार्फत खेलहरूको स्ट्रिमिङ हुने छ ।
फिफाले नेपालका लागि एक्सक्लुसिभ अधिकार दिएका कारण विदेशी टेलिभिजन र स्ट्रिमिङ एपले नेपालभित्र प्रसारण गर्न पाउने छैनन् । नेपाली दर्शकहरूले तोकिएको शुल्क भुक्तानी गरेपछि विश्वकपका सबै १०४ खेल हेर्न पाउनेछन् ।
टिभी प्याकेजका लागि करसहित ९९९ रूपैयाँ शुल्क तोकिएको छ भने मोबाइल प्याकेजका लागि करसहित ५४९ तोकिएको छ । मोबाइल र ल्यापटप दुवैमा हेर्नका लागि पनि ९९९ रूपैयाँ शुल्क तिरे पुग्नेछ ।
काठमाडौं । प्रतीक्षाको घडी सकिएको छ । बिहीबार नेपाली समयअनुसार मध्यराति १२ः४५ बजे मेक्सिको र दक्षिण अफ्रिकाबीचको खेलमा रेफ्रीले ह्विस्सल बजाएसँगै फुटबलको महाकुम्भ सुरु हुनेछ । ४८ टोली, १०४ खेल र ३९ दिनको रोमाञ्चक यात्रापछि विश्व फुटबलले नयाँ च्याम्पियन पाउनेछ ।
मेक्सिको सिटीदेखि टोरन्टो र लस एन्जलससम्म फैलिएको यो प्रतियोगिता विश्वकपको नयाँ युगको सुरुआत पनि हो । किनभने विश्वकपको इतिहासमा पहिलोपटक ४८ टोली सहभागी हुँदैछन् । यसअघि ३२ टोली खेल्ने प्रतियोगितामा अब थप १६ राष्ट्रहरुले विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा आफ्नो उपस्थिति जनाउने अवसर पाएका छन् ।
प्रतियोगिता १६ शहरमा आयोजना हुँदैछ, जसमा अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ शहर समावेश छन् । जुलाई १९ मा न्युयोर्क– न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा हुने फाइनल खेलसहित च्याम्पियन टोलीले कूल ८ खेल खेल्नेछ ।
पछिल्लोपटक अमेरिकाले सन् १९९४ मा विश्वकप आयोजना गरेको थियो । जतिबेला मात्र २४ टोली थिए । १५औं संस्करण त्यतिबेला ५२ खेल भएका थिए । यसपाली टोली र खेल संख्या ठ्याक्कै दोब्बरले बढेको छ ।
भव्य उद्घाटन समारोह
यसपटकको उद्घाटन समारोह विश्वकप जस्तै विशेष छ । पहिलोपटक उद्घाटन कार्यक्रम एउटै शहरमा सीमित रहने छैन । मेक्सिको सिटी, टोरन्टो र लस एन्जलसमा छुट्टाछुट्टै समारोह आयोजना गरिनेछ । तीनवटै आयोजक राष्ट्रले आफ्नो संस्कृति, इतिहास र पहिचानलाई विश्वसामू प्रस्तुत गर्नेछन् ।
मेक्सिको सिटीमा हुने मुख्य उद्घाटन समारोहमा शाकिरा, बर्ना ब्वाय, जे बाल्भिन, टाइला लगायतका अन्तर्राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिनेछन् । त्यसपछि ऐतिहासिक एस्टाडियो एज्टेकामा मेक्सिको र दक्षिण अफ्रिकाबीचको उद्घाटन खेल हुनेछ ।
आयोजक राष्ट्रको चुनौती
घरेलु समर्थकको अपेक्षा र दबाबबीच तीनै आयोजक राष्ट्र विश्वकपमा राम्रो प्रदर्शन गर्ने लक्ष्यमा छन् । जेसी मार्सको प्रशिक्षणमा रहेको क्यानडासँग जोनाथन डेभिड, साइल लारिन र टाजोन बुकाननजस्ता प्रभावशाली खेलाडी छन् । अल्फोन्सो डेभिजको फिटनेस चिन्ताको विषय भए पनि क्यानडालाई समूह चरण पार गर्ने दाबेदारका रुपमा हेरिएको छ ।
मेक्सिको पछिल्ला केही वर्षमा संघर्षरत देखिए पनि प्रशिक्षक हाभियर अगुइरेको नेतृत्वमा टोलीको आत्मविश्वास पुनः बढेको छ । विश्वकपअघि सर्बियामाथि ५–१ को प्रभावशाली जितले मेक्सिकोको मनोबल अझ बढाएको छ ।
उता अमेरिकाले माउरिसियो पोचेटिनोको नेतृत्वमा नयाँ उर्जा पाएको छ । सेनेगलविरुद्धको जित र जर्मनीसँगको प्रतिस्पर्धात्मक प्रदर्शनले अमेरिकी समर्थकहरुमा आशा जगाएको छ ।
मेसी र रोनाल्डोका लागि अन्तिम विश्वकप
लियोनल मेसी अर्जेन्टिनालाई लगातार दोस्रो विश्वकप उपाधि दिलाउने अभियानमा छन् । प्रतियोगिताका दौरान ३९ वर्ष पुग्ने मेसी सम्भवतः आफ्नो अन्तिम विश्वकप खेल्दैछन् । सन् १९६२ यता कुनै पनि राष्ट्रले लगातार दुई विश्वकप जित्न सकेको छैन । त्यसैले अर्जेन्टिनासामू इतिहास रच्ने अवसर पनि छ ।
४१ वर्षीय क्रिस्टियानो रोनाल्डो पनि अझै पोर्चुगलको टोलीमा छन् । फुटबल करिअरमा विश्वकप उपाधि उनका लागि ‘मिसिङ पज्जल’ हो । बलियो टोली भएकाले पोर्चुगललाई यसपाली उपाधिको प्रमुख दाबेदारका रुपमा हेरिएको छ ।
फ्रान्सका कप्तान किलियन एमबाप्पे अर्का प्रमुख आकर्षण हुन् । क्लब फुटबलमा यस सिजन कठिन समय बिताए पनि विश्वकपमा उनी फेरि चम्किने अपेक्षा फ्रान्स समर्थकहरुको छ ।
त्यस्तै इङ्ल्यान्डका ह्यारी केन करिअरकै उत्कृष्ट लयमा छन् । नयाँ प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा इङ्ल्यान्ड ६० वर्ष लामो उपाधि खडेरी अन्त्य गर्ने लक्ष्यमा छ ।
यसैगरी स्पेनका युवा स्टार लामिन यामाल, ब्राजिलका राफिन्हा, अनुभवी नेयमार तथा बेल्जियम र पोर्चुगलका नयाँ पुस्ताका प्रतिभाहरुले प्रतियोगितालाई थप रोचक बनाउने अनुमान गरिएको छ ।
अमेरिकाको गर्मी
यसपालीको हट टपिक भनेको मोसम पनि हो । उत्तर अमेरिकाको गर्मीले खेलाडीलाई ठूलो चुनौती दिन अनुमान गरिएको छ । विशेषगरी अमेरिका र मेक्सिकोका केही शहरमा अत्याधिक तापक्रम रहने अनुमान छ ।
त्यसैले प्रत्येक हाफमा ‘कुलिङ ब्रेक’ अर्थात पानी पिउने विश्रामको व्यवस्था गरिएको छ । प्रशिक्षकहरुले त्यसलाई रणनीतिक छलफलको अवसरका रुपमा समेत प्रयोग गर्नेछन् ।
लामो क्लब सिजनपछि आएका खेलाडीलाई मौसमसँग भिज्न समय लाग्न सक्छ । जसका कारण प्रतियोगिताको सुरुआती चरणमा केही अप्रत्याशित नतिजा देखिन सक्छन् ।
डार्क हर्सहरुको खतरा
विश्वकप केवल ठूला राष्ट्रहरुको कथा मात्र होइन । हरेक संस्करणमा केही नपत्याउँदो टोलीले अप्रत्याशित नतिजा ल्याइरहेका हुन्छन् ।
यसपटक स्कटल्यान्ड, नर्वे, मोरक्को, आइभोरी कोस्ट, इक्वेडर र सेनेगलजस्ता टोलीहरुलाई सम्भावित ‘डार्क हर्स’का रुपमा हेरिएको छ ।
एर्लिङ हालान्ड र मार्टिन ओडेगार्डको नेतृत्वमा रहेको नर्वे, स्कट म्याकटोमिने र जोन म्याकगिनको स्कटल्यान्ड तथा मोरक्कोले ठूला टोलीहरुलाई चुनौती दिन सक्ने क्षमता राख्छन् ।
त्यस्तै उज्वेकिस्तान, हाइटी, कुरासाओ र केप भर्डेजस्ता टोलीहरुले पनि विश्व फुटबलमा नयाँ कथा लेख्ने सपना बोकेर मैदान उत्रिनेछन् ।






