काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले इतर समूहलाई पार्टी एकताका लागि पठाएको प्रस्ताव सार्वजनिक भएको छ । उपसभापति विश्वप्रकाश शर्माले १५ दिनअघि आन्तरिक रुपमा पठाएको सात बुँदे सहमतीको प्रस्ताव आज सार्वजनिक गरिएको हो ।
प्रस्तावमा विशेष महाधिवेशनपछि देखिएको राजनीतिक अवस्थालाई स्वीकार गर्दै विगतका मतभेद बिर्सेर पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउन आग्रह गरिएको छ । विशेष महाधिवेशनको प्रक्रिया र परिणामप्रति असहमतिलाई १५औँ महाधिवेशनको बन्दसत्रमा मौखिक वा लिखित रूपमा राजनीतिक एजेन्डाका रूपमा उठाउन सकिने प्रस्तावमा उल्लेख छ ।
विशेष महाधिवेशनमा सहभागी भएको वा नभएको आधारमा कुनै पनि सदस्यप्रति विभेदपूर्ण व्यवहार नगर्ने प्रतिबद्धता जनाईएको प्रस्तावमा क्रियाशील सदस्यता अध्यावधिक सम्बन्धी विधानमा रहेका अस्पष्टतालाई स्पष्ट पारेर अघि बढ्ने उल्लेख छ । प्रस्तावमा लामो समयदेखि पार्टीमा योगदान दिएका केही नेताहरूलाई ‘वरिष्ठ नेता’ बनाउने सहित केन्द्रीय समितिका सबै सदस्यले वडा तहबाटै प्रतिनिधि निर्वाचित भएर आउनुपर्ने व्यवस्था समावेश गरिएको छ ।
केन्द्रीय समितिको अंगका रूपमा १५औँ महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने,भ्रातृ तथा शुभेच्छुक संस्थाहरूमा काम गर्न इच्छुक नेताहरूलाई सभापति, पदाधिकारी वा उनीहरूको योग्यता र इच्छाअनुसार जिम्मेवारी प्रदान गर्ने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।
आज सार्वजनिक गरिएको प्रस्ताव यसप्रकार छ ।
विभिन्न कालखण्डमा विविध प्रकृतिका विवाद र फरक मत नेपाली काँग्रेस पार्टीभित्र प्रकट हुँदै आएका छन् । भिन्न मतहरु सुरक्षीतगर्दै अभिन्न रहेर अघि बढ्ने नेपाली काँग्रेसको परम्परा दृस्टिगतगर्दै अघिबढ्न हामी प्रतिबद्ध छौँ ।
बिशेष महाधिवेशन पश्चात् उत्पन्न परिस्थिति र अबको बाटोका सन्दर्भमा __
१) बिधानको १७(२) बमोजिम सम्पन्न बिशेष महाधिवेशन, निर्वाचन आयोगले गरेको अधावधिक अनि सम्मानित सर्वोच्च अदालतले अन्तिम छिनोफानो गरिसकेको यथार्थ आत्मसात गर्दै विमतिका सबै बिषय बिर्षिएर एकताबद्ध भएर अघि बढ्ने । तर बिशेष अधिवेशनको प्रक्रिया र परिणाम उपरको विमतीलाई आफ्नो राजनैतिक एजेन्डाका रूपमा १५ औं महाधिवेशनको बन्दसत्रमा मौखिक / लिखित दुवै रूपमा प्रस्तुत गर्न सकिने । बिशेष महाधिवेशनमा सहभागी रहेको या नरहेको आधारमा पार्टीका कुनैपनी सदस्यलाई फरक कोणबाट नहेर्ने, फरक ब्यवहार नगर्ने ।
२) महाधिवेशन तयारी क्रमको पहिलो चरण कृयाशिल सदस्यता अधावधिक गर्ने प्रक्रियालाई निर्धारित समयभित्र पूरा गर्ने । ( पार्टी बिधानमा विगतदेखीनै रहेकोे यस सम्बन्धि व्यवस्थाबारे रहेका अष्पस्टतालाई स्पष्ट गरेर अघि बढ्ने )
३) पार्टीमा लामो समय योगदान गर्नुभएका अग्रज नेताहरू मध्येबाट केहि अग्रजलाई केन्द्रीय समितिमा वरिष्ठ नेताका रूपमा सम्मानित भुमिकामा स्थापित गर्ने ।
४) विगतमा केन्द्रीय समितिमा रहेका र नरहेका साथीहरू मध्येबाट जिम्मेवारी निर्वाह गर्न इच्छुक साथीहरूलाई केन्द्रीय समितिमा निश्चित संख्यामा सम्मानपुर्वक जिम्मेवारी प्रदान गर्ने । कार्यसम्पादन समितिमा सम्मानजनक सहभागिता रहने । ( तर महाधिवेशनमा स्वत भाग लिन पाइने परम्परा अन्त्य गरि, केन्द्रीय समितिमा रहेका सबैले वडा तहबाट नै प्रतिनिधि बनेर अनिवार्य आउनुपर्ने )
५) पन्ध्रौं महाधिवेशन गराउने निर्वाचन समिति, अनुशासन समिती र कृयाशिल सदस्यता व्यवस्थापन समितिमा सम्मानजनक सहभागिता र सहकार्य गर्ने ।
६) केन्द्रीय समितिको अंग रहनेगरी बैठकबाट १५ औं महाधिवेशन व्यवस्थापन समिती गठन गर्ने ।
७) भ्रातृ र शुभेच्छुक संस्थाहरुको केन्द्रीय समितिमा कार्य गर्न इच्छुक साथीहरूलाई सभापतिनै अथवा पदाधिकारी या उहाँहरुको चाहना र योग्यता अनुरुपको जिम्मेवारी प्रदान गर्ने ।






