स्कटल्याण्डले विश्वकप फुटबल अन्तरगत आफ्नो पहिलो खेलमा हाइटीलाई पराजित गरेको छ । आइतबार बिहान सम्पन्न समूह सी अन्तरगतको खेलमा स्कटल्याण्डले हाइटीलाई १–० गोल अन्तरले हराएको हो ।
स्कटल्याडको जितमा जोन म्याकिगन नायक बने । खेलको २९ औ मिनेटमा जोनले गरेको एकमात्र गोल नै स्कटल्याण्डको जितमा निर्णायक बन्यो । खेलमा सेन्ट्रल अमेरिकन मुलुक हाइटीले बलियो चुनौती पेश गरेपनि गोल फर्काउन सकेन ।
सन् १९९८ पछि पहिलो पटक विश्वकप खेलेको स्कटल्याण्डले महत्वपूर्ण तीन अंक जोड्दै समूहको शीर्ष स्थानमा पुगेको छ । जितसँगै स्कटल्याण्डको नक आउट चरण प्रवेशको सम्भावना बलियो बनेको छ ।
समूह ‘सी’ अन्तर्गत आज बिहान सम्पन्न खेलमा पाँच पटकको विश्वकप विजेता ब्राजिलले मोरक्कोसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । यस समूह ‘सी’ मा स्कटल्याण्ड तीन अंकका साथ शीर्ष स्थानमा छ भने मोरक्को एक अंकका साथ दोस्रो स्थानमा छ ।
त्यस्तै, समान एक अंक नै बटुलेको ब्राजिल तेस्रो स्थानमा छ । अंकविहीन रहेको हाइटी चौथो स्थानमा छ ।
विश्वकपअन्तर्गत आजै समूह ‘डी’ को खेलमा अस्ट्रेलिया र टर्कीबीच प्रतिस्पर्धा हुनेछ । क्यानडाको भ्यानकुभर स्टेडियममा हुने उक्त खेल अहिले बिहान ९:४५ बजेदेखि सुरु हुनेछ । आज हुने अर्को समूह ‘इ’ को खेलमा जर्मनी र कुराकाओबीच भिडन्त हुनेछ । उक्त खेल राति १०:४५ बजे हुनेछ ।






