राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुन लागेको पहिलो राष्ट्रिय महाधिवेशनमा कूल चार हजार २ सय ११ प्रतिनिधि सहभागि हुने भएका छन् । रास्वपा निर्वाचन आयोगले सार्वजनिक गरेको महाधिवेशन प्रतिनिधिमा सात प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट उक्त संख्या निर्धारण गरिएको हो ।
जस अनुसार कोशी प्रदेशबाट ३ सय ६४, मधेसबाट ६ सय ३०, बागमतीबाट ७ सय ९४, लुम्बिनीबाट ६ सय २१, गण्डकीबाट ४ सय ५४, कर्णालीबाट ३ सय ४३ र सुदूरपश्चिमबाट ५ सय ५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने छन् । त्यस्तै ३३ देशका प्रवास सम्पर्क विभागबाट एक सय ७० जना, विधानअनुसार पार्टी सभापतिबाट १ सय ३८ जना मनोनयन भइसकेका छन् भने समूहगत रूपमा पार्टी प्रवेश गरेकालाई १९२ जनालाई चयन गरिएको छ ।
पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति, जिल्ला सभापतिसहित पाँच जना प्रतिनिधिसहित महाधिवेशन प्रतिनिधिको संख्या टुंग्याईएको हो । प्रदेश समितिका सबै सदस्य, प्रदेशस्तरीय विभाग, अनुशासन आयोग र सल्लाहकार परिषद्का पदाधिकारी पनि प्रतिनिधि भएका छन् ।
यसैगरी, सङ्घीय नेतृत्व मञ्चका सबै केन्द्रीय सदस्य, केन्द्रमा रहेका ३८ वटा विभागबाट ११–११ जनाका दरले सदस्य तथा केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगबाट ११–११ जनाको प्रतिनिधित्व भएको छ । गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन जना र महानगरपालिकाबाट चार जना प्रतिनिधि चयन गरिएको छ ।
प्रदेश सम्पर्क विभागबाट तीन–तीन जना र जिल्ला सम्पर्क विभागबाट एक–एक जना प्रतिनिधि हुने व्यवस्था छ । गत प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका तर्फबाट पराजित तथा समानुपातिक सूचीका व्यक्तिलाई पनि महाधिवेशन प्रतिनिधि बनाईएको छ । साथै, २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित समानुपातिक सूचीका र पार्टीमा सक्रिय व्यक्तिलाई पनि प्रतिनिधि बनाइएको छ । केन्द्रीय समितिमा नरहेका प्रतिनिधिसभा सदस्य पनि प्रतिनिधिका रुपमा महाधिवेशनमा सहभागि हुनेछन् ।






