राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो मूल राजनीतिक सिद्धान्तको रुपमा ‘सामाजिक लोकतन्त्र’लाई अंगीकार गर्ने भएको छ । ४ वर्षअघि स्थापना भएको पार्टीको राजनीतिक सिद्धान्त के हो ? भन्ने प्रश्नले आलोचित रास्वपाका सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेसन पछिको राजनीतिक सिद्धान्तबारे प्रस्ट पारेका हुन् ।
चितवनको भरतपुरमा जारी पहिलो महाधिवेशनको बन्दसत्रमा सभापति रवि लामिछानेले महाधिवेशनपछि पार्टीका सम्पूर्ण दस्ताबेजहरूमा मूल राजनीतिक सिद्धान्तका रुपमा सामाजिक लोकतन्त्र उल्लेख हुने स्पष्ट पारे । सभापति लामिछानेले प्रतिवेदनमार्फत रास्वपा प्रत्यक्ष निर्वाचित कार्यकारीकै पक्षमा रहेको पनि उल्लेख गरेका छन् ।
स्थिर नेतृत्व र स्पष्ट जिम्मेवारीसहितको प्रत्यक्ष निर्वाचित कार्यकारीका पक्षमा रास्वपा रहेको लामिछानेले बताए । त्यस्तै पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा रहेको उल्लेख गर्दै रास्वपाले आगामी दिनमा संसदको माथिल्लो सदनलाई गैर–दलीय विशेषज्ञ सभा बनाउन चाहेको बताएको छ। प्रदेश सभा र प्रदेश सरकारको पनि पुनर्संरचनाका पक्षमा आफुलाई अघि सारेको रास्वपाले सभापति लामिछानेको प्रतिवेदनमार्फत प्रतिष्पर्धात्मक उदार अर्थतन्त्रको नीति अघि सारेको छ ।
आर्थिक स्वतन्त्रता केवल व्यापारको विषय नभएर नागरिक स्वतन्त्रताको पनि महत्वपूर्ण आयाम भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा लामिछानेले २०७२ सालमा जारी भएको संविधान कार्यान्वयनको समीक्षा र परिमार्जन गर्नेबारे पनि प्रस्ट पारेका छन् । संविधान जारी हुँदा नै एक दशकमा कार्यान्वयनको समीक्षा र परिमार्जनको ढोका खोलिएको भन्दै सभापति लामिछानेको राजनीतिक प्रतिवेदनमा वर्तमान रास्वपा नेतृत्वको सरकारले त्यसलाई आत्मसाथ गरेको उल्लेख गरेका छन् ।
रास्वपाले अरू दललाई एकअर्काको शत्रुका रूपमा नहेर्नेसमेत प्रतिवेदन पेश गर्ने क्रममा प्रस्ट्याएका छन् । लामिछानेले अहिलेसम्म भागबन्डाका कारण सर्वदलीय सहमति एकदमै बदनाम रहेको उल्लेख गर्दै त्यो सहमतिलाई राष्ट्रहितमा लगाएर त्यसको गरिमा फर्काउन चाहेको पनि बताएका छन् ।






