• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

संरक्षणसँगै पर्यटकीय गन्तव्य बन्दै इलामपोखरी

  •  नेपाल चौतारी
  • २०८३ श्रावण १, शुक्रबार ०८:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    लमजुङ । लमजुङको दूधपोखरी गाउँपालिका–३ ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५ पाँचोकको सिमानामा रहेको ऐतिहासिक तथा धार्मिक महत्वको इलामपोखरी क्षेत्र संरक्षणसँगै पर्यटकीय क्षेत्रका रूपमा विकास भएको छ ।

    दुई स्थानीय तहको संयुक्त पहलमा २०७२ साल वैशाखको भूकम्पबाट क्षति पुगेको सातकन्यादेवी मन्दिर पुनर्निर्माण भएपछि इलामपोखरीलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अभियानले गति लिएको हो ।

    दोर्दी गाउँपालिकाका सिनियर सबइन्जिनियर विश्वास पाँडेका अनुसार सातकन्यादेवी मन्दिर परम्परागत मौलिक शैली कायम राख्दै पुनर्निर्माण भएको छ । तीन मिटर लम्बाइ र तीन मिटर चौडाइ रहेको दुईतले मन्दिरमा १२ वटा सालका थाम र २० वटा चुडाल प्रयोग गरिएको छ भने परम्परागत झिङ्गटीको छानो राखिएको छ ।

    मन्दिरको माथिल्लो भागमा करिब आठ किलो तौलको तामाको गजुर जडान गरिएको छ । मन्दिरमा दुईवटा ढोका, तल्लो तलामा दुईवटा झ्याल र माथिल्लो तलामा चारवटा झ्याल निर्माण गरिएको छ । पुरानो संरचनाको मौलिकता कायम राख्दै पुनर्निर्माण गरिएकाले मन्दिरको ऐतिहासिक स्वरूप जोगाइएको पाँडेले बताए ।

    उनका अनुसार मन्दिर पुनर्निर्माणका लागि गणपति कन्स्ट्रक्सन, नुवाकोटसँग रु ७२ लाख ५५ हजारमा सम्झौता गरिएको थियो । बजेट व्यवस्थापनमा भएको ढिलाइ, सडक पहुँचको समस्या तथा निर्माण सामग्री ढुवानीमा देखिएका कठिनाइका कारण तोकिएको समयमा काम सम्पन्न हुन सकेन ।

    सो कामका लागि सङ्घीय सरकारबाट रु ४५ लाख बजेट प्राप्त भएको थियो भने बाँकी रकम दूधपोखरी र दोर्दी गाउँपालिकाले आधाआधा व्यहोर्नेगरी काम अघि बढाइएको थियो । समयमै काम सम्पन्न हुन नसक्दा सङ्घीय बजेटमध्ये रु १५ लाखबराबरको मात्र काम भएको र बाँकी रकम फिर्ता गएको पाँडेले बताए ।

    बाँकी निर्माणकार्यलाई निरन्तरता दिन दुवै गाउँपालिकाले आफ्नै स्रोतबाट बजेट व्यवस्थापन गरी काम सम्पन्न गरेका हुन् । पर्खाल, रेलिङ, मन्दिरमा चढ्ने सिँढी तथा शौचालय फिटिङलगायतका काम समेटिएपछि हाल सम्पन्न योजनाको कुल लागत रु ८३ लाख ६९ हजार ७९ पुगेको उनले जानकारी दिए ।

    इलामपोखरी क्षेत्रको समग्र विकासका लागि तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को कुल लागत रु १० करोड १६ लाख १० हजार ६६ बराबर छ । डिपिआरमा सातकन्यादेवी मन्दिर, शौचालय, सानो गुम्बा, तीनवटा ढङ्गेधारा, चौतारा, स्तूपा, पर्खाल, पार्क, पार्किङ, कम्पाउन्डलगायतका संरचना निर्माण तथा इलामपोखरी ताल संरक्षणका योजना समेटिएका छन् ।

    हाल सम्पन्न मन्दिर पुनर्निर्माण र शौचालय निर्माण सोही डिपिआरअन्तर्गतको पहिलो चरणको काम भएको पाँडेले बताउनुभयो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको उद्योग तथा पर्यटनतर्फको बजेटमा इलामपोखरी क्षेत्रको संरक्षण तथा पर्यटन पूर्वाधार विकासका लागि रु २० लाख विनियोजन गरेको छ । उक्त बजेटबाट इलामपोखरी ताल संरक्षण तथा डिपिआरमा समेटिएका बाँकी पूर्वाधार निर्माणका काम क्रमशः अघि बढाइनेछ ।

    गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको इलामपोखरी क्षेत्रको संरक्षण, विकास र पर्यटन प्रवर्द्धनका लागि बजेट विनियोजन गरिएको बताए । उनले इलामपोखरीको विकासले पर्यटक आगमन बढाउनुका साथै लमजुङको पहिचान विस्तार, स्थानीय अर्थतन्त्र चलायमान बनाउन र धार्मिक आस्थाको संरक्षणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

    इलामपोखरी ताल संरक्षणका थप काम बाँकी छ । पोखरीको पानी विभिन्न स्थानबाट चुहिने समस्या रहेकाले दीर्घकालीन संरक्षणका लागि थप प्राविधिक अध्ययन र संरचना निर्माण गर्नुपर्ने आवश्यकता छ । डिपिआरमा समेटिएका पार्क, पार्किङ, गुम्बा, ढुङ्गेधारा, स्तूपा, चौतारालगायत संरचना निर्माण तथा ताल संरक्षणका बाँकी काम बजेट उपलब्धताअनुसार चरणबद्ध रूपमा अघि बढाउने तयारी छ ।

    स्थानीय जनश्रुतिअनुसार इलामपोखरीमा सात वर्ष उमेरका दुई कन्याले जलसमाधि लिएपछि देवीको स्वरूप धारण गरेको विश्वास छ । सोही विश्वासका आधारमा यहाँ सातकन्यादेवीको पूजा–आराधना गर्ने परम्परा सुरु भएको स्थानीयवासी बताउँछन् ।

    चौबिसे राज्यकालीन समयमा लमजुङ महत्त्वपूर्ण राज्यका रूपमा परिचित थियो । त्यही कालखण्डसँग जोडिएको मानिने इलामपोखरी क्षेत्र धार्मिक आस्थाका दृष्टिले समेत महत्त्वपूर्ण रहेको स्थानीय विश्वास छ ।

    सातकन्यादेवी मन्दिरको पुनर्निर्माणले यस क्षेत्रको ऐतिहासिक तथा सांस्कृतिक विरासत संरक्षण गर्दै नयाँ पुस्तासँग जोड्ने प्रयास गरेको छ । समुद्री सतहदेखि दुई हजार २६० मिटर उचाइमा रहेको इलामपोखरी प्राकृतिक सुन्दरताले भरिपूर्ण पर्यटकीय गन्तव्य हो । यहाँबाट सूर्योदय, सूर्यास्त तथा विभिन्न हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

    इलामपोखरीस्थित सातकन्यादेवी मन्दिरमा पूजा गरे मनोकामना पूरा हुने जनविश्वास छ । साउन महिनाबाहेक अन्य समयमा यहाँ बलि चढाउने परम्परा छ । चैत शुक्ल पूर्णिमामा ठूलो मेला लाग्ने तथा हरिबोधनी एकादशीका दिन स्थानीय झाँक्रीले फूलमाला चढाउने धार्मिक परम्परा छ ।

    स्थानीयवासीका अनुसार बिचौर क्षेत्रका दवाडी र न्यौपाने समुदायले धानको बीउ राख्नुअघि तथा धान काट्नुअघि इलामपोखरीबाट दूधको धारा लगाउने परम्परा अहिले पनि कायम छ ।

    दोर्दी गाउँपालिकाका उपाध्यक्ष बिच्छबहादुर घलेले इलामपोखरीसँग आफ्नो बाल्यकालदेखिको भावनात्मक सम्बन्ध रहेको बताए । सोही पालिका–५ पाँचोक निवासी घलेले बाल्यकालमा गाईवस्तु चराउन इलामपोखरी आसपास पुग्ने गरेको स्मरण गर्दै ऐतिहासिक तथा धार्मिक महत्व बोकेको क्षेत्र संरक्षणविहीन अवस्थामा देख्दा मन दुख्ने गरेको सुनाए ।

    “अहिले म पालिकाको उपाध्यक्षको जिम्मेवारीमा रहँदा यस क्षेत्रको संरक्षण र विकासका काम अघि बढ्न थालेका छन् । यसले व्यक्तिगत रूपमा पनि निकै खुसी लागेको छ”, उनले भने ।

    उनले केही वर्षअघि इलामपोखरीमा आयोजना गरिएको मेलामा १५ देखि २० हजारसम्म दर्शनार्थी तथा पर्यटक सहभागी भएको उल्लेख गर्दै पूर्वाधार थप व्यवस्थित गर्नसके यस क्षेत्र धार्मिक तथा पर्यटकीय हिसाबले अझ आकर्षक गन्तव्य बन्ने विश्वास व्यक्त गरे ।

    “अझै सडक, पार्किङ, ताल संरक्षण, प्रचारप्रसार तथा अन्य आवश्यक पूर्वाधार निर्माण गर्दै जानुपर्छ । इलामपोखरीमात्र होइन, दूधपोखरी, मेमेपोखरी, दाम्राङलगायत दोर्दी गाउँपालिकाका धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र पूर्वाधार विकासलाई पनि प्राथमिकताका साथ अघि बढाएका छौँ”, उनले भने ।

    दूधपोखरी गाउँपालिकाका उपाध्यक्ष क्षेत्रबहादुर गुरुङले इलामपोखरी दुई गाउँपालिकाको साझा ऐतिहासिक तथा धार्मिक सम्पदा भएकाले संरक्षण र विकासमा दुवै पालिकाले सहकार्य गर्दै आएको बताए । उनले मन्दिर पुनर्निर्माणका लागि आवश्यक बजेट दुवै गाउँपालिकाले बराबरी व्यवस्थापन गरेको जानकारी दिँदै निर्माण दोर्दी गाउँपालिकामार्फत गरिएको बताए ।

    “दुई पालिकाबीचको सहकार्यबाट ऐतिहासिक सम्पदाको संरक्षण, धार्मिक पर्यटन विकास र स्थानीय समुदायको आर्थिक गतिविधि विस्तारमा सहयोग पुगेको छ । अब इलामपोखरीको थप संरक्षण, प्रचारप्रसार र आवश्यक पूर्वाधार निर्माणलाई निरन्तरता दिँदै यसलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ”, उनले भने ।

    यसअघि गण्डकी प्रदेश सरकारले इलामपोखरी क्षेत्रमा पुग्ने पर्यटकका लागि विश्रामस्थल निर्माण गरिसकेको छ । स्थानीय तह, प्रदेश सरकार र समुदायबीचको सहकार्यलाई निरन्तरता दिँदै डिपिआरमा समेटिएका बाँकी योजना चरणबद्ध रूपमा कार्यान्वयन गर्नसके इलामपोखरी दोर्दी र दूधपोखरी गाउँपालिकाको मात्र नभई समग्र लमजुङकै महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने अपेक्षा छ ।

    Post Views: 39
    प्रकाशित मिति: २०८३ श्रावण १, शुक्रबार ०८:१०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.