मुस्ताङ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ स्थित खिङ्गा गाउँमा यस वर्षको यार्तुङ पर्व हर्षोल्लासका साथ मनाइएको छ । मुक्तिनाथ क्षेत्रका विभिन्न गाउँमा मनाइने यार्तुङ पर्व खिङ्गा गाउँबाट सुरु भएको हो ।
बर्खायामको अन्त्यसँगै हिउँदयामको स्वागतका रूपमा स्थानीयले हरेक वर्ष यार्तुङ पर्व मनाउँदै आएका छन् । स्थानीय भाषामा ‘यार’ को अर्थ बर्खा र ‘तुङ’ को अर्थ समाप्ति भन्ने बुझिन्छ । त्यसैले यार्तुङलाई बर्खायाम सकिएर हिउँदयाम सुरु भएको संकेतका रूपमा लिइन्छ ।
शनिबार खिङ्गा गाउँबाट सुरु भएको पर्व जनपूर्णिमाका दिन पुराङ रानीपौवा र झारकोटका स्थानीयले संयुक्त रूपमा मनाउने परम्परा छ ।
खिङ्गा गाउँमा यार्तुङका लागि पुरुष र महिला आ–आफ्नो मौलिक पोसाकमा सजिएर समाजघरमा भेला हुन्छन् । महिलाले विभिन्न परिकार तयार पार्ने तथा पुरुषले घोडाचढीको तयारी गर्ने गर्छन् । सामूहिक रूपमा खाना खाएपछि पुरुषहरू घोडामा सवार हुन्छन् भने महिलाहरू स्थानीय भाषाका यार्तुङ गीत गाउँदै घोडसवार टोलीको अगुवाइ गर्छन् ।
घोडामा सवार पुरुष र गीत गाउँदै अघि बढेका महिलाको टोली झारकोट र पुराङ रानीपौवा हुँदै मुक्तिनाथ पुग्छ । त्यहाँ मुक्तिनाथ मन्दिरको दर्शन गरेपछि नजिकैको गुम्बामा पुगेर पूजाआजा तथा जलपान गर्ने र स्थानीय गीतमा स्याब्रो नाच प्रस्तुत गर्ने गरिन्छ ।
दिउँसो करिब ४ बजेपछि टोली पुनः यार्तुङ गीत गाउँदै रानीपौवा बजारतर्फ फर्किन्छ । रानीपौवा क्षेत्रमा रहेको यार्तुङको परम्परागत भूमिमा पुरुषहरूले घोडा कुदाएर आफ्नो घोडचढी कला प्रदर्शन गर्छन् । त्यसपछि पुरुष र महिलाले संयुक्त रूपमा स्थानीय गीत गाउँदै स्याब्रो नाच प्रस्तुत गर्छन् ।
साँझपख यार्तुङ टोली पुनः घोडामा सवार हुँदै खिङ्गा गाउँ फर्किन्छ । महिलाहरूले स्थानीय भाषाका गीत गाउँदै पुरुष घोडसवार टोलीको अगुवाइ गर्छन् । गाउँ फर्किएसँगै खिङ्गामा यस वर्षको यार्तुङ पर्व सम्पन्न हुन्छ ।
बारागुङ मुक्तिक्षेत्र–१ का वडाध्यक्ष तथा खिङ्गा गाउँका स्थानीय प्रमेश गुरुङले यार्तुङ हिमाली संस्कृति र सभ्यताको महत्वपूर्ण पर्व भएको बताए । उनका अनुसार पर्वले पुस्तौँदेखि चल्दै आएको घोडचढी संस्कृतिको संरक्षण र पुस्तान्तरणसँगै गाउँवासीबीच एकता, सद्भाव र आपसी भाइचाराको भावना बलियो बनाउन योगदान पुर्याउँदै आएको छ ।






