• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १७, बुधबार ०७:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

    चैनपुर (बझाङ) । बझाङका स्याउ किसानका बगैँचा यतिबेला लटरम्म फलेका स्याउले राताम्य छन् । वर्षौँको मेहनतपछि राम्रो उत्पादन हात लागे पनि किसान भने खुसी हुन सकेका छैनन् । उत्पादित स्याउ बिक्रीका लागि बजार नपाउँदा बगैँचामै कुहिने अवस्था आएपछि उनीहरू चिन्तित बनेका हुन् ।

    खप्तडछान्ना गाउँपालिका–६ राजकोटका भरूनी थापाले १६ वर्षदेखि गरेको मेहनतपछि स्याउको उत्पादन राम्रो हुँदै गएको बताइन् । तर, उत्पादन बढेसँगै बजारको समस्या झन् गम्भीर बनेको उनको भनाइ छ ।

    बगैँचामा स्याउ पाकेर हाँगा झुकिरहेका छन् । कतिपय बोट नै अडेस लगाउनुपर्ने अवस्थामा पुगेका छन् । तर, परिवारको चिन्ता भने स्याउ टिप्नेभन्दा बिक्री गर्ने विषयमा छ ।

    “दिउँसोको उज्यालोमा झुलेको फल देख्न श्रीमान् वीरजनसहित छोराछोरीले पालैपालो रात काटेका छौँ,” भरूनीले भनिन्, “तर फल पाकेपछि कहाँ बेच्ने भन्ने चिन्ताले सताउँछ ।”

    स्याउलाई बाँदर, भालु, ओध, अरिङ्गाल, बँदेल तथा विभिन्न चराचुरुङ्गीबाट जोगाउन किसानले चौबिसै घण्टा बगैँचाको निगरानी गर्नुपर्ने अवस्था छ । वन्यजन्तुले ठूलो क्षति पुर्‍याउने गरेको किसानको गुनासो छ ।

    खप्तडछान्ना–६ खालीगडाका अन्य किसानको अवस्था पनि उस्तै छ । भीमबहादुर थापाले वर्षभरि गरेको मेहनत आँखै अगाडि खेर गइरहेको बताए । स्याउ झरेर कुहिने र वन्यजन्तुले नोक्सान गर्ने क्रम बढे पनि बिक्रीका लागि ग्राहक नआएको उनको भनाइ छ ।

    उत्पादनभन्दा बजार ठूलो चुनौती

    जमिन बाँझो नराख्ने उद्देश्यले स्याउ खेतीमा लागेका किसानका लागि अहिले उत्पादनभन्दा बजार मुख्य समस्या बनेको छ । खालीगडाबाट सडक पुगेको स्थानसम्म पुग्न मात्रै करिब दुई घण्टा पैदल हिँड्नुपर्छ । त्यसपछि पनि सहज रूपमा सवारीसाधन नपाइने र पाएमा ढुवानी खर्च अत्यधिक हुने किसान बताउँछन् ।

    खप्तडछान्ना–५ का किरण गिरीका अनुसार स्याउ पाक्ने मुख्य मौसममै पहाडी सडक अवरुद्ध हुने भएकाले उत्पादन बजारसम्म पुर्‍याउन कठिन हुन्छ ।

    “बर्खाको समयमा स्याउ पाक्छ । त्यही बेला पहाडी सडक अवरुद्ध हुन्छ । यातायात सञ्चालन नहुने र ढुवानी कठिन हुने भएकाले किसानको उत्पादन बगैँचामै थन्किन्छ,” उनले भने ।

    उनका अनुसार कतिपय अवस्थामा बजारसम्म स्याउ पुर्‍याउँदा स्याउको मूल्यभन्दा ढुवानी खर्च नै बढी हुन्छ । त्यसमाथि बाहिरबाट आउने सस्तो स्याउसँग स्थानीय उत्पादनले प्रतिस्पर्धा गर्न नसक्दा किसान थप मारमा परेका छन् ।

    बाहिरी स्याउसँग प्रतिस्पर्धा गर्न कठिन

    बझाङका बजारमा अहिले भारतको हिमाचल प्रदेशको सिम्ला क्षेत्रबाट आउने स्याउ सहजै पाइन्छ । नेपालकै जुम्ला र मुस्ताङबाट आउने स्याउ पनि बजारमा पर्याप्त छ । बाहिरबाट आउने स्याउ प्रतिकिलो करिब १५० देखि १७० रुपैयाँमा पाइने भए पनि स्थानीय किसानले आफ्नो उत्पादन बजारसम्म पुर्‍याउँदा सोभन्दा बढी खर्च हुने अवस्था छ ।

    खप्तडछान्ना–६ तिउनेका नरेन्द्र थापाका अनुसार स्थानीय स्याउ स्वादिलो र विभिन्न जातका भए पनि उपभोक्ताले त्यसलाई प्राथमिकता नदिँदा किसान समस्यामा परेका छन् ।

    “खालीगडामा विभिन्न जातका निकै स्वादिला स्याउ छन् । बगैँचामै प्रतिकिलो ८० रुपैयाँमा दिन्छुभन्दा पनि किन्न मान्दैनन्,” उनले भने ।

    ठूलो क्षेत्रफलमा स्याउ खेती गरेर बजार नपाउँदा आफूलाई पछुतो लागेको नरेन्द्रले बताए । उनका अनुसार उत्पादन मात्र गरेर नहुने रहेछ, त्यसका लागि व्यवस्थित बजार पनि आवश्यक हुन्छ ।

    “उत्पादन हुने फलफूलको आधा भाग कुहिने, सड्ने र वन्यजन्तुको आहारा हुने अवस्था छ । बचेको स्याउले पनि उचित मूल्य पाउँदैन,” उनले भने ।

    खालीगडाका अर्का किसान कैलाश खड्काले स्याउबाट आम्दानी गर्ने उद्देश्यले ८०० बोट रोपेका छन् । तीमध्ये करिब ३०० बोटमा अहिले राम्रो उत्पादन भएको छ । तर, बगैँचाबाट स्याउ टिपेर घरमा थुपारेपछि उनको चिन्ता सुरु हुन्छ ।

    “स्याउ बेचेर छोराछोरी पाल्न र पढाउन मुस्किल देख्छु । छोरी काठमाडौँमा पढ्छे । स्याउकै पछि लाग्दा उसलाई दिने खर्चसमेत जुटाउन कठिन भयो,” उनले भने ।

    गत वर्ष उनले ज्याला दिएर डोकामा स्याउ बोकेर बाजुराको काँडा–डोगडीसम्म पुर्‍याए पनि त्यहाँ ग्राहक भेटिएनन् । अन्ततः स्याउ कोदो, मूला र आलुसँग साटेर घर फर्किनुपरेको उनले सुनाए ।

    गाउँमा जनसंख्या घट्दै जाँदा स्थानीय बजार पनि खुम्चिएको किसानको भनाइ छ । उत्पादनलाई लामो समय सुरक्षित राख्न सके बेसिजनमा समेत बिक्री गर्न सकिने भन्दै उनीहरूले व्यवस्थित रस्टिक स्टोर (भण्डारण केन्द्र) को आवश्यकता औँल्याएका छन् ।

    आरएसडिसीले थाल्यो बजारीकरणको पहल

    स्याउ किसानको यही समस्यालाई ध्यानमा राख्दै ग्रामीण स्वावलम्बन विकास केन्द्र (आरएसडिसी) ले बजारीकरणको पहल थालेको छ । खप्तडछान्ना गाउँपालिकामा सहकारीमार्फत कृषि क्षेत्रमा काम गरिरहेको संस्थाले पहिलो चरणमा किसानबाट स्याउ सङ्कलन गरी बजारसम्म पुर्‍याउने तयारी गरेको हो ।

    आरएसडिसीका कार्यक्रम संयोजक धिरेन्द्र रोकायाका अनुसार पहिलो चरणमा १० क्विन्टल स्याउ सङ्कलन गरी धनगढी पुर्‍याइनेछ । किसानलाई सहज बनाउन ढुवानी खर्चको केही हिस्सा संस्थाले व्यहोर्ने उनले बताए ।

    “यो पहिलो चरणको परीक्षण हो । यसमा सफलता मिल्यो भने आगामी दिनमा ठूलो परिमाणमा स्याउ बजार पठाउन सकिन्छ,” रोकायाले भने ।

    बजारबाट माग बढेमा उत्पादनसँगै सङ्कलन, ग्रेडिङ, प्याकेजिङ, भण्डारण र ढुवानी व्यवस्थापनमा सहकारीलाई थप सशक्त बनाउने योजना रहेको उनले बताए । यसबाट किसानलाई बजारको सुनिश्चितता दिँदै थप उत्पादनका लागि प्रोत्साहित गर्न सकिने संस्थाको अपेक्षा छ।

    Post Views: 67
    प्रकाशित मिति: २०८३ भाद्र १७, बुधबार ०७:३०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.