• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति

  •  नेपाल चौतारी
  • २०८३ भाद्र ३०, मंगलवार ०७:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सन्तोष गौतम, म्याग्दी । म्याग्दीमा गण्डकी प्रदेश सरकारले सञ्चालन गरेका रणनीतिक तथा प्राथमिकताप्राप्त पाँच सडक आयोजना सम्पन्न भएका छन् । सडक स्तरोन्नति भएपछि ग्रामीण क्षेत्रका बासिन्दालाई आवतजावत तथा ढुवानीमा सहज हुनुका साथै यात्रा अवधि पनि छोटिएको छ ।

    प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८०/८१ देखि सुरु गरेका चार र आव २०८१/८२ मा ठेक्का सम्झौता भएको एक आयोजना सम्पन्न गरेको हो ।

    विभिन्न निर्माण कम्पनीसँग करिब रु ३८ करोडमा ठेक्का सम्झौता भएका ती आयोजनामार्फत १८ किलोमिटर सडक स्तरोन्नति गरिएको मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर डा. महेन्द्र बानियाँले जानकारी दिए ।

    उनका अनुसार बेनी–तोरीपानी हुँदै पाखापानी, दरवाङ–मुना–ढोरपाटन, पखेर–बरङ्जा, बगरफाँट–दूधेखोला–भकिम्ली तथा गलेश्वर–जगन्नाथ सडक आयोजना निर्धारित समयमै सम्पन्न भएका हुन् ।

    सडक स्तरोन्नतिपछि वर्षायाममा हिलो र हिउँदमा धुलाम्मे सडकमा यात्रा गर्नुपर्ने बाध्यता घटेको छ । कच्ची, साँघुरा तथा ग्रेड र घुम्ती नमिलेका सडकमा जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्थासमेत कम भएको छ । कार्यालयका सबइन्जिनियर घनश्याम रोकाका अनुसार यसअघि करिब ३.५ मिटर चौडा रहेका सडकलाई प्रदेश सरकारको मापदण्डअनुसार कम्तीमा सात मिटर फराकिलो बनाइएको छ ।

    बेनी–तोरीपानी हुँदै पाखापानी सडक

    मङ्गलादेवी सुवास कन्ट्रक्सनले रु ११ करोड ७६ लाख १२ हजारमा ठेक्का लिएको बेनी–तोरीपानी हुँदै पाखापानी सडकअन्तर्गत बेनी नगरपालिका–९ को भुतदैला–नेप्टेचौर–तोरीपानी खण्डको चार किलोमिटर सडक स्तरोन्नति भएको छ ।

    आयोजनाअन्तर्गत एक किलोमिटर ९०० मिटर सडकमा प्रिमिक्स प्रविधिबाट कालोपत्र, ५५० मिटरमा ढलान र दुई किलोमिटरमा ग्राभेल गरिएको छ ।

    मार्ग खुलेको करिब २५ वर्षपछि सडक स्तरोन्नति भएपछि बेनी नगरपालिका–९ र १० तथा रघुगङ्गा गाउँपालिकाका वडा नं ५, ६ र ८ का बासिन्दा लाभान्वित भएका छन् ।

    तर, म्याग्दीको प्राथमिकताप्राप्त यस सडकका लागि चालु आव २०८३/८४ मा बजेट विनियोजन नभएको रघुगङ्गा गाउँपालिका–६ का वडाध्यक्ष मनकुमार शेरपुञ्जाले गुनासो गरे ।

    दरवाङ–मुना–ढोरपाटन सडक

    रामसागर विके एस केबीएस धवलागिरि जेभीले रु १४ करोड ६१ लाखमा ठेक्का लिएको दरवाङ–मुना–ढोरपाटन सडकअन्तर्गत धवलागिरि गाउँपालिका–७ को धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति गरिएको छ ।

    आयोजनाअन्तर्गत ताकम र शिवाङ क्षेत्रमा ९०० मिटर सडकमा प्रिमिक्स प्रविधिबाट कालोपत्र गरिएको छ भने गौथली भिरलगायत क्षेत्रमा एक हजार ७०० मिटर सडक ढलान गरिएको छ । सडकलाई आठ मिटर फराकिलो बनाउनुका साथै नाली तथा टेवा पर्खाल निर्माण गरिएको छ ।

    यसअघि चारदेखि पाँच मिटर चौडा रहेको सडक फराकिलो भएपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ । ग्राभेल मात्रै भएको तीन किलोमिटरभन्दा बढी सडकलाई पनि कालोपत्र गर्न पहल भइरहेको धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले बताए ।

    “मार्ग खुलेको १८ वर्षपछि सडक स्तरोन्नति हुनु हाम्रो वडाका लागि सकारात्मक उपलब्धि हो,” उनले भने, “बजेट अभावमा कालोपत्र हुन नसकेका सडकलाई कालोपत्र गर्न र वर्षायाममा बिग्रिएका सडक मर्मत गर्न प्रदेश सरकारसँग पहल भइरहेको छ ।”

    धारापानीमा २०६६ सालमा सडक पुगेको थियो । धवलागिरि गाउँपालिकाका पाँचवटा वडाका बासिन्दाले प्रयोग गर्ने यो प्रमुख सडक हो । गण्डकी प्रदेश सरकारको रणनीतिक तथा प्राथमिकताप्राप्त आयोजनाका रूपमा यसको स्तरोन्नति गरिएको हो ।

    मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्पका रूपमा हेरिएको बेनी–दरवाङ–धारापानी–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत दरवाङ–धारापानी र मच्छिम–मुना खण्डको स्तरोन्नतिमा सञ्चालित अर्को आयोजनाको भौतिक प्रगति २५ प्रतिशत पुगेको छ ।

    पखेर–बरङ्जा सडक

    पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत गत आवमा सम्पन्न पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला सडकअन्तर्गत मङ्गला गाउँपालिका–३ पखेरदेखि आलडाँडा खण्ड स्तरोन्नति गरिएको छ ।

    रु पाँच करोड ८६ लाखमा ठेक्का लिएको एनके–युनाइटेड जेभीले तीन किलोमिटर सडकमा ग्राभेल गरेको छ । घुम्ती तथा उकालो क्षेत्रमा ५५० मिटर सडक ढलान गर्नुका साथै ग्रेड र घुम्ती सुधार गरिएको छ ।

    बरङ्जा म्याग्दीको धेरै जनघनत्व भएको पुरानो बस्ती हो । मङ्गला गाउँपालिकाका वडा नं ३, ४ र ५ तथा बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले सदरमुकाम बेनी आउजाउका लागि यही सडक प्रयोग गर्छन् ।

    स्थानीयवासी मिलन रोकाका अनुसार यसअघि बरङ्जादेखि बेनी पुग्न करिब एक घण्टा लाग्ने गरेकामा सडक स्तरोन्नतिपछि यात्रा अवधि घटेर ३० मिनेटमा सीमित भएको छ ।

    हाँडेभिर–बगरफाँट–दूधेखोला–हल्लेगौडा सडक

    बेनी नगरपालिका–२ को बगरफाँट–कोप्रे हुँदै वडा नं ३ को दूधेखोला र हल्लेगौडा जोड्ने सडक मार्ग खुलेको १८ वर्षपछि स्तरोन्नति गरिएको हो ।

    माछापुच्छ्रे हिमालयन जेभीले रु पाँच करोड ५९ लाखमा ठेक्का लिएको आयोजनाअन्तर्गत बगरफाँट–कोप्रे–दूधेखोला खण्ड फराकिलो बनाइएको छ । घुम्ती, मोड र ग्रेड सुधारसँगै नाली तथा टेवा पर्खाल निर्माण गरिएको छ ।

    विसं २०६४ मा कृषि सडकका रूपमा बेनीबजारदेखि बेनी नगरपालिका–२ को हाँडेभिर–बगरफाँट हुँदै भकिम्लीसम्म सडकको ट्र्याक खोलिएको थियो । बगरफाँटदेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर सडक फराकिलो पार्नुका साथै नाली, पर्खाल र ग्राभेलको काम सम्पन्न गरिएको स्थानीय चन्द्रबहादुर घिमिरेले बताए । हल्लेगौडा क्षेत्रमा ३९० मिटर सडक ढलान गरिएको छ ।

    हाँडेभिर–बगरफाँट–दूधेखोला–हल्लेगौडा–मुसुङडोले हुँदै बागलुङको ताराखोला जोडिने यस सडकले दूधेखोलाबाट बास्कुना–थामडाँडा–अर्जेखोला हुँदै मङ्गला गाउँपालिकाका वडा नं ३ र ४ का बरङ्जासमेत जोडेको छ ।

    गलेश्वर–पुलाश्रम–जगन्नाथ सडक

    बिबीपीएलबीएस डिएस धवलागिरिले रु दुई करोड २३ लाख ४६ हजारमा ठेक्का लिएको गलेश्वर–पुलाश्रम–जगन्नाथ सडकअन्तर्गत बेनी नगरपालिका–९ को गलेश्वरदेखि काउलेगौडा हुँदै कोशेपानीसम्मको सडक स्तरोन्नति गरिएको छ ।

    आयोजनाअन्तर्गत ३०० मिटर सडक ढलान गरिएको छ भने एक किलोमिटर १०० मिटर सडक फराकिलो बनाइएको छ । घुम्ती तथा ग्रेड सुधार, नाली र पर्खाल निर्माणसमेत गरिएको छ । यसअघि चार मिटर चौडा रहेको सडकलाई अहिले सात मिटर फराकिलो बनाइएको छ ।

    म्याग्दी हुँदै मुस्ताङ जाने तीर्थयात्रीलाई गलेश्वर, पछै र जगन्नाथ क्षेत्रमा भित्र्याउने, उनीहरूको बसाइ लम्ब्याउने तथा स्थानीयवासीको आवतजावत सहज बनाउने उद्देश्यले गलेश्वर–पुलाश्रम–जगन्नाथ हुँदै बेनी बजार जोड्ने सडक स्तरोन्नति गरिएको हो ।

    गलेश्वर हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वारका रूपमा परिचित छ । पछैमा हिन्दू धर्मग्रन्थ रामायणका पात्र रावणको जन्म भएको तथा प्राचीनकालमा ऋषिमुनिले तपस्या गरी ज्ञान आर्जन गरेको जनविश्वास छ । त्यस्तै, जगन्नाथमा तत्कालीन पर्वत राज्यका राजा दिलीप बम मल्लले निर्माण गरेको शिखर शैलीको मन्दिर रहेको छ।

    Post Views: 42
    प्रकाशित मिति: २०८३ भाद्र ३०, मंगलवार ०७:४३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.