लमजुङ । लगातार वर्षा भइरहेकाले मर्स्याङ्दी नदीमा पानीको सतह बढेको छ। भकुण्डेबेँसीस्थित मर्स्याङ्दी जलमापन केन्द्रका अनुसार हाल नदीको जलसतह ८ दशमलव २४ मिटर आसपास पुगेको छ।
जलमापन केन्द्रमा १० मिटरलाई चेतावनी तह निर्धारण गरिएको छ। पछिल्ला दिनमा नदीको बहाव बढ्दा जलसतह पटकपटक चेतावनी तह पार गरेको केन्द्रले जनाएको छ। नदीमा पानीको सतह बढेपछि जानकारी गराउन ‘साइरन’ बज्ने व्यवस्था गरिएको छ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालका अनुसार मर्स्याङ्दी नदीको जलसतह पटकपटक बढिरहेकाले नदी तथा खोला आसपासका बस्तीमा जोखिम बढेको छ। नदी आसपासका विभिन्न स्थानमा जलविद्युत् आयोजनाले जडान गरेका साइरनमार्फत पानीको सतह बढेको सूचना पाउने व्यवस्था रहेको उनले बताए।
लगातार वर्षा भइरहेकाले नदीको बहाव अझ बढ्न सक्ने र अवस्था कस्तो हुने भन्ने यकिन गर्न कठिन रहेको खनालले बताए। उनले नदी तथा खोला आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन्।
यसअघि २०७८ सालमा आएको बाढीले मर्स्याङ्दी नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। उक्त बाढीबाट लमजुङ–मनाङ सडकखण्डसहित विभिन्न भौतिक संरचनामा समेत क्षति पुगेको थियो।






