धनगढी । निर्वाचन आयोगले दल त्याग गरी अन्य दलमा प्रवेश गरेका दुई उपाध्यक्षसहित १० जना जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ। आयोगले सम्बन्धित स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेको सम्बन्धमा सूचना जारी गर्दै उनीहरूको पद रिक्त भएको जानकारी गराएको हो।
आयोगका अनुसार २०७९ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायतका दलबाट निर्वाचित भएर पछि अन्य दलमा प्रवेश गरेका जनप्रतिनिधिको विवरण सम्बन्धित राजनीतिक दलको केन्द्रीय समितिको निर्णयसहित आयोगमा प्राप्त भएको थियो।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा ९१० तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको देखिएकाले सम्बन्धित पालिका तथा तहका निर्वाचित पद स्वतः रिक्त भएको आयोगले जनाएको छ।
आयोगले सार्वजनिक गरेको विवरणअनुसार मधेश प्रदेशका चार, कोशी प्रदेशका तीन, बागमती प्रदेशका दुई र सुदूरपश्चिम प्रदेशका एक जना जनप्रतिनिधिको पद रिक्त भएको हो।
मधेश प्रदेशमा धनुषाको शहीदनगर नगरपालिकाका वडा नम्बर ५ का वडाध्यक्ष तनुकलाल कुसियैत, विदेह नगरपालिकाका वडा नम्बर ६ का वडाध्यक्ष जयराम मण्डल, कमला नगरपालिकाका वडा नम्बर ५ का वडाध्यक्ष शीबा पासमान र मिथिला नगरपालिकाका वडा नम्बर २ का वडाध्यक्ष बिहारी महतो कोइरीको पद रिक्त भएको आयोगले जनाएको छ।
त्यस्तै, कोशी प्रदेशमा खोटाङको केपिलासगढी गाउँपालिकाका वडा नम्बर ३ का वडाध्यक्ष तुलाराम राई र बराहपोखरी गाउँपालिकाका उपाध्यक्ष भुवलराज राई तथा मोरङको धनपालथान गाउँपालिकाका वडा नम्बर ५ का वडाध्यक्ष गयानन्द सरदारको पद रिक्त भएको छ।
बागमती प्रदेशमा दोलखाको जिरी नगरपालिकाका वडा नम्बर ६ का वडाध्यक्ष मर्जितबहादुर खड्का र वडा नम्बर ३ का वडाध्यक्ष खेटराज घिमिरेको पद रिक्त भएको आयोगले जनाएको छ।
सुदूरपश्चिम प्रदेशको कैलालीस्थित बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरीको पद पनि दल त्यागका कारण रिक्त भएको आयोगको सूचनामा उल्लेख छ।
आयोगले राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशन गरेको हो।






