बाँके । भूमि प्रशासन कार्यालय नेपालगन्ज, बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा आगजनीबाट नष्ट भएका ३१ हजारभन्दा बढी जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) को स्रेस्ता कायम गरेको छ ।
२०८२ भदौ २४ गते नेपालगन्जस्थित भूमि प्रशासन कार्यालयमा भएको आगजनीबाट कार्यालय भवनसहित महत्वपूर्ण कागजात जलेर नष्ट भएका थिए । त्यसपछि असोज र कात्तिक दुई महिना कार्यालयको सेवा बन्द भएको थियो । मङ्सिर १ गतेदेखि भने भाडाको भवनबाट कार्यालयले सेवा पुनः सञ्चालन गर्दै आएको छ ।
कार्यालय प्रमुख सन्तोष विकका अनुसार गत मङ्सिरदेखि २०८३ असार मसान्तसम्म ३१ हजार १८९ जग्गाको जग्गाधनी प्रमाणपुर्जाको स्रेस्ता कायम गरिएको छ ।
‘जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट जलेर नष्ट भएका स्रेस्ता कायम गर्ने काम तीव्र रूपमा भइरहेको छ,’ उनले भने, ‘एकैपटक धेरै सेवाग्राही आउँदा भीडभाड हुने गरे पनि सेवा प्रवाहमा समस्या नहुनेगरी काम गरिरहेका छौँ ।’
उनका अनुसार २०७४ सालपछिका स्रेस्ता डिजिटलाइज भइसकेकाले पुनः कायम गर्न तुलनात्मक रूपमा सहज छ । तर, त्यसअघिका जग्गाधनी प्रमाणपुर्जाको रोक्का अवस्था यकिन गर्नुपर्ने भएकाले स्रेस्ता कायम गर्दा पत्रिकामा सूचना प्रकाशन गर्नेलगायत प्रक्रियागत काम गर्नुपर्ने हुँदा समय बढी लाग्ने गरेको छ ।
कार्यालयमा सेवा लिन ढिलाइ हुन्छ भन्ने आम बुझाइ सही नभएको प्रमुख विकको भनाइ छ । सेवाग्राहीलाई सेवा प्रक्रियाबारे पर्याप्त जानकारी नहुँदा कतिपय अवस्थामा काममा ढिलाइ हुने गरेको उनले बताए ।
सेवाग्राहीलाई आवश्यक सहयोग र समन्वयका लागि कार्यालयले सेवाग्राही सहायता कक्ष समेत स्थापना गरेको छ । लेखापढी व्यवसायीमार्फत सेवा लिँदा अतिरिक्त आर्थिक भार पर्न सक्ने भएकाले सहायता कक्षमार्फत आवश्यक सेवा लिन कार्यालयले सेवाग्राहीलाई आग्रह गरेको छ ।
विभागको अनलाइन प्रणालीमा प्राविधिक समस्या देखिएको अवस्थाबाहेक अन्य समयमा सेवाग्राहीको काममा ढिलाइ नहुनेगरी सेवा प्रवाहमा ध्यान दिइएको कार्यालय प्रमुख विकले बताए ।
आगजनीपछि भूमि प्रशासन कार्यालय नेपालगन्ज, बाँकेले हाल विद्युत्रोडस्थित भाडाको भवनबाट सेवा सञ्चालन गर्दै आएको छ ।






