नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स (सिडेन) मा संस्थापन पक्षको प्यानलबाट उमेदवार बनेका अध्यक्ष लगायत अधिकांश पदमा निर्वाचित भएका छन् । अध्यक्षमा संस्थापन पक्षका रविभूषण झा र महासचिवमा झा समूहका सुुदर्शन शर्मा निर्वाचित भएका छन् ।
संस्थाको शनिबार भएको आठौं अधिवेशनले झाको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको हो । झाले अध्यक्षका उम्मेदवार धनेन्द्र केसीलाई पराजित गरेका हुन् । पार्टीको संस्थापन पक्षबाट अध्यक्षको उम्मेदवारबाट बनेका झाले १३१५ मत पाउँदा संस्थापनइतरबाट अध्यक्षका प्रत्यासी केसीले १००२ मत पाए । उपाध्यक्षमा निर्वाचित मदन पुरीले १२८० मत ल्याए । महासचिवका लागि प्रतिस्पर्धी रहेका तीन मध्ये झाको प्यानलबाट उम्मेदवार बनेका सुुदर्शन शर्माले ११७४ मत ल्याएर निर्वाचित भए ।
महासचिवमा भूपेन्द्र श्रेष्ठले ९०२ र कुलराज खनालले २३५ मत पाए । उपमहासचिवमा खगेन्द्र अवस्थी निर्वाचित भए भने कोषाध्यक्षमा रस्मिता बञ्जाराले जितिन् । निवर्तमान कार्यसमितिमा संस्थापन इतर समूहका लक्ष्मण केसी अध्यक्ष थिए ।






