अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति भएपनि नियुक्ती प्रक्रिया टुंगो लगाउने राष्ट्रपति निवासमा आज बिहान ९ बजेका लागि तय भएको छलफल कार्यक्रम केही घण्टाका लागि सरेको छ ।
शीतलनिवास स्रोतका अनुसार वार्तारत पक्षले आ–आफ्नो पक्षमा आन्तरिक छलफल गर्नुपर्ने भएकाले केही घण्टाका लागि समय सारिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले गएराति अबेरसम्म पनि विभिन्न पक्षसँग छलफल गरेका थिए । दलहरुले संसद विघटन नगरी नयाँ प्रधानमन्त्री तय गर्नुपर्ने विचार राखेका छन् । आन्दोलनरत पक्ष जेनजीले संसद विघटनको पक्षमा छ ।
संविधान अनुसार संसदको सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने व्यवस्था छ । आन्दोलनरत पक्ष र दलहरु पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन सहमत भएका छन् । तर, संसदले अनुमोदन गर्ने विधिमा सहमति जुट्न सकेको छैन ।






