नेकपा एमालेका सचिव योगेश भट्टराईले कम्युनिस्ट आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्नुपर्ने बताएका छन् । उनले बिहीबार एक वक्तव्य जारी गर्दै नयाँ पुस्ताको भावना र माग सम्बोधनसहित निर्वाचनमार्फत संविधानलाई ‘ट्रयाक’मा ल्याउनु पहिलो काम भएको पनि बताए । उनले केही परिमार्जन आवश्यक भएको भन्दै संविधानले देखाएको बाटोबाटै परिमार्जन गर्न सकिने उल्लेख गरे ।
उनले भने– ‘आज अत्यधिक सोधिएको प्रश्न हो, ‘यही राजनीतिक नेतृत्व, संरचना र मनोविज्ञानबाट सम्भव छ ? हामीप्रति आशाले हेरिरहनुभएका अधिकांश बुद्धिजीवी, नेता तथा कार्यकर्ता, शुभेच्छकहरूको भनाइ छ, ‘अब पुनर्गठनविना सम्भव छैन ।’ मार्क्सवादले भन्छ, ‘अवस्था बदलिएपछि चेतना पनि बदलिन्छ ।’ अवस्थामा बदलाब आएपछि मानिसको सोच, विचार, चेतना पनि उसैगरी बदलिन्छ ।’
उनले चेतना अवस्थासँगै विकसित हुने र वर्गसंघर्षले यसलाई नयाँ स्तरमा पुर्याउँने बताएका छन् । उनले भने– ‘अवस्था अभूतपूर्व रूपमा बदलिएको छ । भदौ २२ र आज उस्तै हुँदै होइन । आज हामी बिलकुल नयाँ चेतनामाथि उभिएका छौँ । दार्शनिक एन्टोनियम ग्राम्सी भन्छन्, ‘संकटको समयमा पुराना विचारहरू मर्छन्, तर नयाँ जन्मिन हिच्किचाउँछन् । यतिखेर आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्नुपर्छ ।’ उनले पार्टी नेतृत्वको सम्मानसहित पुनगर्ठनमा जोड दिएका छन् ।
उनले अगाडि भनेका छन् – ‘पार्टीका नेताहरू जो आज नेतृत्वमा हुनुहुन्छ, लामो समय तपाईं–हामी पनि उहाँहरूसँगै थियौँ । यो जस–अपजसको भागीदार हामी पनि हौँ । त्यसैले म यो बेला भन्छु– उहाँहरूको सम्मानसहित पुनर्गठन ।’ पुनर्गठन र रूपान्तरणको आवाजलाई नेताहरूमाथिको प्रश्न अथवा अपमानका रूपमा अर्थ लगाउनु गलत हुने उनले बताएका छन् ।






