नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत पछिल्ला दिनमा पार्टीभित्र बढ्दो असन्तुष्टि र गुटगत गतिविधिहरुलाई चिर्दै संगठनलाई बलियो बनाउन सक्रिय भएका छन्। यही क्रममा उनले काठमाडौं उपत्यका भित्र रहेका पार्टीका उपलब्ध केन्द्रीय सदस्यहरूसँग छलफल गरेका छन्। उनले केन्दीय सदस्यहरुसंग छलफल गर्नुअघि नेपाल विद्यार्थी संघका पूर्व पदाधिकारी, कांग्रेस निकट बुद्धिजीवी र विभिन्न तहका नेताहरुसँग छलफल गरेका थिए ।
महतले हालैको जेनेरेसन जी आन्दोलन, हस्ताक्षर अभियान र युवापुस्तामा देखिएको असन्तोषलाई सम्बोधन गर्ने उदेश्यले छलफललाई अघि बढाएका हुन् । छलफलमा सहभागी केन्द्रीय सदस्यहरूले घाइते पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको स्वास्थ्य लाभको कामना गर्दै पार्टीलाई अनुशासन, एकता र सहकार्यतर्फ उन्मुख बनाउनुपर्ने धारणा राखेका थिए।
नेताहरुलाई सम्बोधन गर्दै डा. महतले पार्टीलाई केन्द्रदेखि गाउँसम्म बलियो संरचना बनाउने हो भने मात्रै लोकतान्त्रिक आन्दोलन सशक्त हुने र गुटगत गतिविधि र असन्तुष्टिपूर्ण हस्ताक्षर अभियानले पार्टी कमजोर बनाउने भएकाले त्यसलाई निरुत्साहित गर्नुपर्ने बताए ।
यसैबीच दशैंलगत्तै सभापति देउवाले केन्द्रीय समितिको बैठक बोलाउने तयारीबारे छलफलमा बहस भएको छ। उक्त बैठकले संगठन विस्तार, असन्तुष्टि व्यवस्थापन र नीतिगत स्पष्टता ल्याउने अपेक्षा गरिएको छ। संविधानको रक्षा र लोकतन्त्र सुदृढीकरणलाई प्राथमिकतामा राख्दै नेताहरूले कांग्रेसलाई लोकतान्त्रिक मूल्य र मान्यताको आधारमा पुनः उभ्याउन महत्त्वपूर्ण निर्णय आवश्यक रहेको बताएका छन्।






