नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीसहितका शीर्ष नेताहरुको बैठकमा नजाने भएका छन् । देउवा स्वयम्ले आज दिउँसो १ बजे होटल हिमालय कुपण्डोलमा पदाधिकारी तथा पूर्वपदाधिकारीसहितका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । तर, देउवा पदाधिकारी बैठकमा नजाने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
उनले आज बस्ने पदाधिकारी तथा पूर्वपदाधिकारीसहितका शीर्ष नेताहरुको बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गर्ने भानु देउवाले जानकारी दिए ।
जेन–जी आन्दोलनका क्रममा उनीमाथि गत २४ भदौमा आक्रमण भएको थियो । प्रदर्शनकारीले उनको बूढानीलकण्ठस्थित घरमा आगजनी गरेका थिए । हाल देउवाले आफू रहेको निवास सार्वजनिक गरेका छैनन् । देउवाले २६ असोजमा हुने केन्द्रीय समितिको बैठकमा भने सहभागी हुने बताएका छन् ।






