भदौ २३ र २४ गतेको जेनजीको आन्दोलनपछि मूलुक फरक परिवेशमा छ । मुलुक कुन बाटोमा जाने भन्ने स्पष्ट हुन सकेको छैन् । संविधानको अवस्था के हुने ? फागुन २१ गते तोकिएको चुनाव के हुने ? अर्थात फागुन २१ गते भित्र बर्तमान अन्तरिम सरकारले चुनाव गराउन सकेन भने त्यसपछिको मुलुकको अवस्था के हुने यस्ता गम्भिर खालका प्रश्न अहिले उठिरहेका छन् । यसैले अहिले एकखाले मुलुकमा अन्यौल सृजना भएको छ । यो अन्यौल हटाउनका लागि मुख्यगरी राजनीति दलहरूले स्पष्ट दृष्टिकोण तय गर्न आवश्यक छ । त्यसमाथि पनि ००७ सालको जनक्रान्तिदेखि २०४६ को र २०६२÷६३ को जनआन्दोलनसम्मका सबै ऐतिहासिक मोडमा नेतृत्वदायी भूमिकामा रहेको नेपाली कांग्रेसले मुलुकलाई निकास दिने दृष्टिकोण बनाउन जरुरी छ ।
पार्टीभित्र अहिले नेतृत्वको गहिरो द्वन्द्व चलिरहेको छ । सभापति शेरबहादुर देउवा लामो समयदेखि उपचाररत छन् जसले संगठनात्मक गतिशीलता कमजोर बनाएको छ । उनको अनुपस्थितिमा उपसभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी लिएर यसै कार्यसमितिलाई निरन्तर दिने रणनीतिमा रहेको देखिन्छ भने संस्थापक इतर समूह नियमित वा विशेष महाधिवेशन गराउन बाध्य बनाउने रणनीतिमा लागेका छन् ।
देश विषम राजनीतिक परिस्थिति र नैतिक संकटको मोडमा पुगेको बेला कांग्रेसको केन्द्रीय समितिको बैठक आगामी असोज २६ गते बोलाइएको बैठकलाई दुईदिन पछि धकेलिएको छ । जसले पार्टीको कार्यदिशा र देशको भविष्यसमेत निर्धारण गर्ने अपेक्षा गरिएको छ । असोज २८ गते बस्ने कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक विगतको जस्तो एक साधारण बैठक होइन । यो पार्टीको भविष्य निर्धारण गर्ने निर्णायक सभा बन्नु छ । यो बैठकले नियमित महाधिवेशनको मिति घोषणा गर्ने वा विशेष महाधिवेशनको घोषणा गर्ने वा केन्द्रीय कार्यसमिति भंग गरी विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गर्नेछ ।
अब कांग्रेस निरन्तरतामा चल्न सक्दैन् । निरन्तरतामा चलाउनु भनेको विघटनमा जानु हो । तर निरन्तरतामा चल्दैन भन्दैमा कसैलाई चिढाएर, कसैलाई भड्काएर, कसैको अपमान गरेर अर्थात कसैले जितेको वा कसैले हारेको देखिँदा कांग्रेसले समाधान दिन सक्दैन् । कांग्रेस अहिले आफू हारेर भएपनि मुलुकलाई जिताउनपर्ने बेला हो । यो बेलामा कांग्रेसका नेताहरूले अहिले पार्टीभित्र कसले जित्ने कसले हार्ने भनेर माथापाच्ची गर्ने समय होइन ।
त्यसैले निरन्तरतामा पनि नराख्ने कसैको हारजीत पनि नभएर सिंगै मुलुकलाई जिताउनका लागि वीपीपुत्र पूर्वमहामन्त्री डा शशांक कोइराला भनेझै केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउँदा उत्तम हुने देखिन्छ । यसहुँदा न कसैले जित्छ न कसैले हार्छ । यसोभएमा मात्र पुनर्जागरणको चरणका रहेको नेपालको लोकतन्त्रको नेतृत्व कांग्रेसले मात्र गर्न सक्छ । यसपछि त्यो तब सम्भव हुनेछ जब पुरानो नेतृत्वले आत्ममूल्यांकन गर्दै नयाँ पुस्तालाई जिम्मेवारी सुम्पने उदारता पनि देखाउँछ । सिंगै कार्यसमिति भंग गर्दा आम कार्याकर्तामा नेपाली कांग्रेस रुपान्तरणको सन्देश जाने निश्चित छ ।






