नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले कांग्रेसलाई नयाँ दिशा र नयाँ सम्भावना भएको पार्टी बनाउने हो भने मंसिर महिनाभित्रै पार्टीको १५ औं महाधिवेशन गर्नुपर्ने बताएका छन्। केन्द्रीय समिति बैठकमा विहिबार आफ्नो धारणा राख्दै कोइरालाले अरू दलहरूले महाधिवेशन तयारी गरिसकेको र कांग्रेसले पनि मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने बताए।
उनले भने– ‘अन्य राजनीतिक दलहरू मंसिरमा अधिवेशन गर्ने प्रक्रियामा जुटिसकेका छन् भने हामी किन सक्दैनौं ? त्यसकारण म अत्यन्त विनम्रताका साथ भन्न चाहन्छु– कांग्रेसलाई नयाँ दिशा र नयाँ सम्भावना भएको पार्टी बनाउने हो भने मंसिर महिनामा हाम्रो महाधिवेशन गर्नुपर्छ। त्यस सम्बन्धमा महामन्त्रीले केही कुरा राख्नुभएको छ, केन्द्रीय समितिले केही निर्णय गर्छ होला।’
उनले विशेष महाधिवेशनका लागि उत्साहपूर्वक हस्ताक्षर अभियान चलेको बताउँदै भने– ‘साथीहरूले उत्साहपूर्वक सञ्चालन गर्नुभएको हस्ताक्षर अभियानले कांग्रेसलाई नै ऊर्जा भन्ने हो भन्ने म बुझ्दछु,’ कोइरालाले भने, ‘यी सबैको सम्बोधन ताजा र नियमित महाधिवेशनले मात्र सम्भव छ।’






