नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २४ गते स्वतःस्फूर्त रूपमा शुरू भएको ‘जेन-जी’ आन्दोलनमा राजनीतिक दलका कार्यकर्ता र आपराधिक तत्वले घुसपैठ गरी त्यसलाई हिंसात्मक बनाएको भन्दै आन्दोलनका क्रममा आफ्नो घर जलाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीनिकट व्यक्ति संलग्न रहेको दाबि गरेका छन् ।
कान्तिपुर टेलिभिजनको एक कार्यक्रममा अन्तर्वार्ता र्दिै थापाले भदौ २४ गते आफ्नो घरमा भएको आक्रमण नियोजित रहेको बताउदै भने– ‘उनले स्वतःस्फूर्त रूपमा शुरू भएको ‘जेन-जी’ आन्दोलनमा राजनीतिक दलका कार्यकर्ता र आपराधिक तत्वले घुसपैठ गरी त्यसलाई हिंसात्मक बनाए । मेरै टोलको, पुरानो राजनीतिक दलको र सरकारमा बसेको पार्टीको चुनाव लडेको नेता नै मेरो घर जलाउन आएको थियो, जसको प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पहुँच थियो।’
थापाले उक्त आन्दोलनमा दुईथरी मानिसहरू रहेको विश्लेषण गर्दै भने–एक, वास्तविक रूपमा आक्रोशित र परिवर्तन चाहने युवाहरू, र दोस्रो, यही मौकामा घुसपैठ गरेर हिंसा भड्काउन खोज्ने तत्वहरू। आफ्नो घरमा आक्रमण गर्न आएको भीडमा आपराधिक पृष्ठभूमि भएका व्यक्तिसमेत सामेल भएको उनले बताए।
महामन्त्री थापाले युवाहरूको वास्तविक आक्रोशलाई सम्मान गर्नुपर्ने तर त्यसको आडमा हुने हिंसात्मक र आपराधिक गतिविधिलाई छुट्याएर हेर्नुपर्नेमा जोड दिए। उनले आन्दोलनको पवित्रतामाथि प्रश्न नउठोस् भन्नका लागि आन्दोलनको नेतृत्व गरिरहेका युवाहरूले नै यस्ता घुसपैठ गर्नेहरूलाई कारबाहीको माग गर्नुपर्ने बताए।






