नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघले जारी नर्सहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । संघका अध्यक्ष दुजाङ शेर्पाले शनिबार विज्ञप्ति जारी गरी आन्दोलनरत नर्सहरूका मागप्रति ऐक्यबद्धता जनाएका हुन् ।
शेर्पाले जारी गरेको विज्ञप्तीमा नर्सहरूले आफ्ना पेशागत अधिकार, सम्मान र न्यूनतम सुविधा सुनिश्चित गर्न जारी आन्दोलनप्रति नेपाल विद्यार्थी संघ, केन्द्रीय समिति पूर्ण ऐक्यबद्धता व्यक्त गर्ने उल्लेख छ ।
उनले निजी अस्पतालहरूमा सरकारी तलब मापदण्ड र सुविधा कार्यान्वयनको प्रभावकारी अनुगमन तथा नियमन अनिवार्य रूपमा हुनुपर्नेमा पनि जोड दिएको छ । नेविसंघले नर्सहरू, स्वास्थ्यकर्मीहरुको न्यूनतम पारिश्रमिक, जोखिम भत्ता र सम्मानजनक सुविधा तत्काल सुनिश्चित गर्न माग गरेको छ ।
श्रम ऐन, २०७४ अनुसार नेपालमा न्यूनतम ज्याला १९ हजार ५५० तोकिएको छ । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८१ पुस २७ गतेको निर्देशनले नर्सहरू तथा स्वास्थ्यकर्मीहरूका लागि पाँचौं तहको न्यूनतम पारिश्रमिक ३४ हजार ७३० कायम गरेको छ ।







