नेपाली कांग्रेसका नेता कुन्दनराज काफ्लेले पार्टीभित्र कम्युनिष्ट शैली राम्रैसँग भित्रिएको टिप्पणी गरेका छन् । महाधिवेशन रोक्न थालियो भन्दै खडा गरेर हावामा तरवार चलाउने काम भएको काफ्लेले जिकिर गरेका हुन् ।
आज बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै काफ्लेले काँग्रेसको महाधिवेशन कसैले नरोक्ने र रोक्न पनि नसक्ने ठोकुवा पनि गरेका छन् । महाधिवेशन समयमै हुने हुनको दाबी छ ।
उनले लेखेका छन्,“काँग्रेसको महाधिवेशन कसैले रोक्दैन, रोक्न सक्दैन, यो समयमै भएरै छाड्छ । महाधिवेशन रोक्न थालियो भन्दै बुख्याँचा खडा गरेर हावामा तरवार चलाउने कम्युनिस्ट शैली काँग्रेसमा राम्रैसँग भित्रिएको देखियो । हुन त यो कम्युनिस्टसँगको लामो उठबसको प्रभाव पनि होला ।”
स्टाटसमा काफ्ले महामन्त्रीद्वव गगन थापा र विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै काफ्लेले लेखेका छन्, “नेपाली काँग्रेस थुप्रै प्रश्नबाट पक्कै घेरिएको छ । पार्टीका पदाधिकारी बीचको स्वार्थ, तानातान र नेतृत्वको होडबाजीसँग जनताले पार्टी माथि गरेका प्रश्न जोडिएका छैनन् । हालको नेतृत्वमा रहेका सबै पदाधिकारी सत्ताको भागबण्डामा सामेल थिए, सरकार सञ्चालनको संयन्त्रमा बसेर राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्त्व राख्ने नीतिगत निर्णयमा मज्जाले सहभागी थिए । आफ्नो स्वार्थ अनुरूपको भाग खाएका पनि थिए । यो त आरोप होइन नि ? ’जो चोर उसैको ठूलो स्वर’ भनेर हामीलाई कसैले भनिदियो भने के होला हालत ?”
काफ्लेले ढोङ र पाखण्डबाट माथि उठेर जनता प्रति इमान्दार बन्ने म्यासेज बोकेर मात्र अधिवेशनमा जान पनि अपिल गरेका छन् । जनताका हकको कार्यान्वयनमा केन्द्रित बन्न आग्रह गरेका काफ्लेले एकतावद्ध भएर आम चुनावमा जान पनि अपिल गरेका छन् ।






