नेकपा एमालेले युथ भोलेन्टियर फोर्स घोषणा गरेको छ । आइतबार भक्तपुरको गुण्डुमा जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको विशेष भेलामा युथ भोलेन्टियर फोर्सको घोषणा गरिएको हो । सो कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नि राधिका शाक्यको उपस्थिति थियो।
एमाले नेता महेश बस्नेतका अनुसार भक्तपुरमा पहिलो पटक युथ भोलेन्टियर फोर्सको घोषणा गरिएको र भक्तपुरबाहेक ललितपुर, काठमाडौं, काभ्रे, रामेछापलगायतका जिल्लामा घोषणा गर्ने कार्यक्रम रहेको छ । उनले युथ भोलेन्टियर फोर्स घोषणा गर्नमा मधेश, पहाड र हिमालका संगठनका साथीहरूले साथ दिएको बताए ।
नेता महेश बस्नेतका अनुसार केपी ओली गुण्डुमा बस्न थालेपछि दुई महिनादेखि युवाहरु त्यस क्षेत्रमा खटिएका छन् । पुष्प श्रेष्ठ, अमित पौडेललगायतले अहिलेसम्म समन्वय गरेको उनले जानकारी दिए । युवा संघ, भूपू सैनिक संगठन, एमाले भक्तपुर लगायतले नेताहरुको सुरक्षामा काम गरिरहेको उनले जानकारी दिए ।






