नेपाली क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । हङकङमा जारी हङकङ सिक्सेसमा नेपालका तर्फबाट अन्तिम खेलपछि शरदले सन्यास लिएका हुन् ।
पहिलोपटक सन् २०१४ मा टी–२० विश्वकप खेल्दा नेपाली टोलीका सदस्य शरदले नेपालबाट ४ ओडिआई र २० वटा टी–२० इन्टरनेशनल खेल खेले । शरदले ओडिआईमा ६६ रन र २ विकेट तथा टी–२० आईमा ३ सय २५ रन बनाएका छन् । ३७ वर्षे अलराउण्डर शरद नेपाली क्रिकेटलाई आफ्नो महत्वपूर्ण समय दिएर नेपाललाई विश्व मञ्चमा पु¥याउन योगदान दिने खेलाडीका रुपमा लिने गरिन्छ ।
शरदको कप्तानीमा आज सम्पन्न हङकङ सिक्सेस अन्र्तगत नेपालको अन्तिम खेलमा नेपाल यूएईसँग पराजित बन्यो । टस हारेर पहिले ब्याटिङ् गरेको यूएईले नेपाललाई ४३ रनले हराएको हो । यूएईले निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै एक सय २९ रन बनायो ।
एक सय ३० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ६ ओभर खेल्दै ४ विकेटको क्षतिमा ८६ रन मात्रै बनायो । यसअघि ४ खेल खेलेको नेपालले तीनमा हार तथा एकमा जित निकालेको थियो । अफगानिस्तान, श्रीलंका र दक्षिण अफ्रिकासँग पराजित बनेको नेपालले भारतमाथी भने ९२ रनको जित निकालेको थियो ।





