जेनजीका प्रतिनिधि सुदन गुरुङले देश परिवर्तनका लागि युवा पुस्तालाई एउटै मोर्चामा उभ्याउने नयाँ चरणको अभियान प्रारम्भ हुने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै सातै प्रदेशदेखि ७७ जिल्लासम्म, स्थानीय तह र वडा तहसम्म जेनजी अभियानको संरचना तयार भइसकेको उल्लेख गरेका छन्। उनको भनाइमा, अब जेनजी मात्र होइन, सबै नेपालीलाई राष्ट्रिय रूपान्तरणको यात्रामा जोड्ने लक्ष्य राखिएको छ।
गुरुङले आफुहरूलाई दलप्रेमी नभई राष्ट्रप्रेमी नेपालीहरू आवश्यक रहेको बताएका छन् । उनले चाँडै नै परिवर्तन चाहने नागरिकलाई एकै ठाउँमा समेट्ने डिजिटल प्लेटफर्म सार्वजनिक गरिने जानकारी पनि दिएका छन्। अभियान दोस्रो चरणमा प्रवेश गरेपछि जनताले भरोसा गरेका सबै जिम्मेवार व्यक्तिलाई एउटै मञ्चमा ल्याउने उनको योजना छ। उनले हर्क साम्पाङ, बालेन शाह, रवि लामिछाने, कुलमान घिसिङ, सुमना श्रेष्ठ र सागर ढकाललाई खुलेरै एक ठाउँमा उभिन आग्रह गरेका छन्।
उनले लेखेका छन् – ‘हामी सबैको चाहना एउटै छ—तपाईंहरू सबै एकताबद्ध भएर अघि बढ्नुहोस् ।’ उनले आगामी अभियानको सुरुआत गोरखा मन्दिरबाट गर्ने घोषणा गरेका छन्। इतिहासमा जस्तै, गोरखाबाट सुरु भएको एकताकै आधारमा नेपाल बनेको स्मरण गर्दै उनले भनेका छन्—राष्ट्रहित र भावी पुस्ताको उज्ज्वल भविष्यका लागि यो अभियान सोही ठाउँबाट प्रारम्भ हुनेछ।






