नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले दृश्य वा अदृश्य पक्षहरूको सरकार र दलहरूबीचमा मुठभेड होस भन्ने चाहना रहेको बताएकी छन् । बुधबार सिमरामा भएको जेनजी प्रदर्शनलाई लक्षित गर्दै उनले सामाजिक संजाल मार्फत भनेकी छन् – ‘हिजो सिमरामा जे घटना भयो, अत्यन्तै दुःखद घटना भयो। अझै दृश्य वा अदृश्य पक्षहरूले सरकार र दलहरूबिच मुठभेड होस भन्ने चाहन्छन। कुनै न कुनै बहानामा संविधान फ्याँक्न चाहन्छन्।’
उनले शान्ति सुव्यवस्था कायम गर्नु, जनता र सार्वजनिक, निजी सम्पत्तिको सुरक्षाको पूर्ण प्रत्याभूति दिन, शान्ति सुरक्षाको व्यवस्था गर्नु सरकारको पहिलो जिम्मेवारी भएको स्मरण गराएकी छन् । उलनले सामाजिक संजालमा लेखेकी छन् – ‘हिजो जे भयो के ठिक भयो त रु यसरी नै हो नागरिक हकहरू खुम्चिँदै जाने। सरकार अब बदलाबाट होइन संवादबाट अगाडी बढोस्। सबै देशभक्त नेपालीहरू फेरी एक पटक जुटौँ। यहाँ सवाल देशको छ, राष्ट्रको छ, देशको सार्वभौमसत्ताको ।’
नेतृ झाँक्रीले हजारौँ नागरिक र अग्रजहरूको बलिदानबाट आएको यो व्यवस्था र संविधान रक्षा गर्नुपर्ने भन्दै थप लेखेकी छन् – ‘नेपालको कुनै पनि भूभागमा निर्बाध आवतजावत गर्ने पाउने,विचारको छनौट गर्न पाउने, आफूलाई मन पर्ने विचार वा दलमा सङ्गठित हुन पाउने, शान्तिपूर्ण रूपमा भेला, सभा सम्मेलन गर्न पाउने, संविधान प्रदत्त हकहरू हुन। यी हकहरू यही संविधानमा मौलिक हकको रूपमा ग्यारेन्टी गरिएको छ। यसलाई अक्षुण्ण राख्नु सरकारको कर्तव्य हो ।’






