नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीलाई विशेष महाधिवेशनसम्म पु¥याउने वातावरण निर्माण हुन आफूले नदिने बताएका छन् । कांग्रेसभित्रको संस्थापन समूहका २५ केन्द्रीय सदस्यसँग शुक्रबार भएको भेटमा कार्यवाहक सभापति खड्काले महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै बुझाएको हस्ताक्षर अनुरूप विशेष महाधिवेशन अवस्था सृजना हुन नदिने बताए ।
भेटमा सहभागी केन्द्रीय सदस्य उदय शमशेर राणाले खड्काले महाधिवेशन प्रतिनिधिको हस्ताक्षर भेरिफिकेसन गरेर विशेष महाधिवेशन हुने अवस्था आउन नदिने कार्यवाहक सभापति खड्काले बताएको जानकारी दिए । कार्यबाहक सभापति खड्काले पार्टीमा अल्पमत बहुमतको अवस्था आउन नदिई सहमतिबाट अगाडि बढ्ने वातावरण निर्माण गर्ने प्रयास गरिरहेको पनि जानकारी गराए ।
उनीहरूले खड्कालाई विशेष महाधिवेशन गर्ने अवस्था आएमा पार्टी विभाजन हुनसक्नेतर्फ सचेत गराएका राणाले जानकारी दिए । जवाफमा खड्काले पार्टीलाई जसरी पनि फुटको अवस्थामा पुग्न नदिने बताएका भेटमा सहभागी नेताहरूले बताएका छन् । उनीहरूले कार्यवाहक सभापति खड्कालाई भेटेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि एकै ठाउँमा भेटेका थिए ।






