नेपाल तरुण दलका पूर्व अध्यक्ष विनोद कायस्थले प्रतिगामी ,प्रतिक्रियावादी र पुनरुत्थानवादी शक्तिहरू नेपाली कांग्रेस विभाजित गर्न देशी विदेशी शक्तिहरू प्रयोग गरेर लागिरहेको बताएका छन् । सामाजिक संजाल फेसबुकमार्फत कायस्थले भाद्र महिना यतादेखि नेपाली कांग्रेस पार्टी मात्र नभई विघटिन संसदमा प्रतिनिधित्व गर्ने सबै पार्टीमा विग्रह सृजना गरेर नेपाली जनताले प्राप्त गरेका उपलब्धि खोसेर आफ्नो कुत्सित र कलुषित अभिप्राय पूरा गर्न कम्मर कसेर लागिरहेको भान हुन थालेको उल्लेख गरेका छन् ।
उनले लेखेका छन् – ‘प्रतिगामी ,प्रतिक्रियावादी र पुनरुत्थानवादी शक्तिहरू नेपाली कांग्रेस विभाजित गर्न देशी विदेशी शक्तिहरू प्रयोग गरेर पहिलादेखि लागिरहेका छन् ( अझ भाद्र महिना यतादेखि नेपाली कांग्रेस पार्टी मात्र होइन – संसदमा प्रतिनिधित्व गर्ने सबै पार्टीमा विग्रह सृजना गरेर अहिलेसम्म नेपाली जनताले प्राप्त गरेका उपलब्धि खोसेर आफ्नो कुत्सित र कलुषित अभिप्राय पूरा गर्न कम्मर कसेर लागिरहेको भान हुनथालेको छ। भगवानले समयमा नै सबैलाई सद्बुद्धि देओस् ।’
कायस्थले नेपाली कांग्रेस पार्टी विभाजित हुँदा लोकतन्त्र र व्यवस्थामाथि नै पटक पटक प्रहार भएको उल्लेख गर्दै लेख्नछन् – ‘नेपालको राजनीतिक घटनाक्रम अध्ययन, विश्लेषण गर्दा राजनीतिक पार्टीहरु धेरैचोटी विभाजित भए। अरु राजनीतिक पार्टीहरु विभाजित हुँदा लोकतन्त्र र शासन व्यवस्थामा त्यति धेरै नकारात्मक असर परेको देखिँदैन । विगतमा नेपाली कांग्रेस पार्टी विभाजित हुँदा लोकतन्त्र र व्यवस्थामाथि नै पटक पटक प्रहार भएको देखिन्छ ।’
उनले पार्टीे बैठकमा आफ्नो विचार र मत बहुमत सदस्यबाट अनुमोदित गराएर सिंगो पार्टीकै विचार र मत बनाउन लाग्नु नै बुद्धिमानी हुने भन्दै जीवन्त पार्टीभित्र विभिन्न विषय र मुद्दामा फरक फरक विचार ,मत प्रकट हुनुलाई स्वाभाविक रूपमा लिनुपर्ने मत राखेका छन् । उनले लेखेका छन् – ‘अहिले देशभरीका नेपाली कांग्रेसका इमान्दार कार्यकर्ता र शुभचिन्तकहरु नेपाली कांग्रेस पार्टी एकताबद्ध भएर देशका सामु देखिएका चुनौतिको सामना गरोस् भन्ने चाहन्छन् । यो या त्यो बहानामा पार्टी विभाजनको उल्टो बाटोमा नहिडोस ।’






