नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले आफुहरुको माग महाधिवेशनको कार्यतालिका नभै महाधिवेशन भएको स्पष्ट पारेका छन् । उनिहरुले आज विज्ञप्ति निकालेर चुनावअघिको शक्ति–व्यवस्था होइन, नयाँ नीति र नयाँ नेतृत्व खोजेको प्रष्ट पारेका हुन् ।
बिशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर सङ्कलन गरेका उनिहरुले केन्द्रीय कार्यसमितिको म्याद थप नगरी नियमित महाधिवेशन गरे स्वीकार्य हुने पनि जनाएका छन् ।अहिलेको कार्यसमितिको म्याद यहि मंसिर २८ मा कार्यकाल सकिदैछ ।
विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि बाहना वा अविश्वसनिय नियमित महाधिवेशनको तालिकामा विशेष महाधिवेशनको माग निष्क्रिय हुन सक्दैन। वर्तमान कार्यसमितिको समयावधि थप नगरी नियमित महाधिवेशन सम्पन्न भई नयाँ नेतृत्व निर्वाचित हुने भएमा मात्र विशेष महाधिवेशनको माग स्वतः निष्क्रिय हुनेछ। अन्यथा, पार्टी विधानले दिएको वैधानिक अधिकार—विशेष महाधिवेशन—कसैले पनि रोक्न वा अतिक्रमण गर्न पाउँदैन।’
कांग्रेसको आन्तरिक जीवन र महाधिवेशन प्रक्रियामा देखिएको लामो अन्योल र निर्णयहिनताले पार्टी गम्भीर संकटको मोडमा उभिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
यस अवस्थाको सम्पूर्ण जिम्मेवारी वर्तमान केन्द्रीय नेतृत्वले लिनुपर्ने माग पनि उनिहरुले गरेका छन् ।
करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानअनुसार वैधानिक रूपमा अघि सारेको यो मागलाई नेतृत्वले आजसम्म बेवास्ता गरेकोमा गहिरो दुःख व्यक्त गरिएको विज्ञप्तिमा विधानको पूर्ण पालना गर्नु सबैको पहिलो कर्तव्य हुने भन्दै उनीहरूले हरेक गतिविधि, पहल र समाधान विधानकै दायराभित्र हुनुपर्ने बताइएको छ ।
विधान केन्द्रीय कार्यसमितिका लागि पनि समान रूपमा लागू हुन्छ कि हुँदैन?, देश, लोकतन्त्र र पार्टीको हित सर्वोपरि हो कि व्यक्तिगत आकांक्षा र स्वार्थ भन्ने प्रश्न पनि बिशेश महाधिवेशन पक्षधरको रहेको छ ।







