नेपाल प्रिमियर लिग एनपिएल अन्तरगत आज पनि दुई खेल हुँदैछन् । दिनको पहिलो खेलमा पोखरा एभेन्जरर्स र लुम्बिनी लायन्स आमने सामने हुँदादोस्रो खेलमा सिजनको अपराजित सुदुरपश्चिम रोयल्स र गत सिजनको विजेता जनकपूर बोल्ट्स भिड्दैछन् ।
अहिलेसम्म खेलेका चारवटै खेलमा शतप्रतिशत नतिजा निकालेको सुदुरपश्चिम अंकतालिकाको शीर्षस्थानमा छ । यो सिजनमा खराब लय समातेको जनकपुरले अहिलेसम्म एउटा पनि जित निकाल्न सकेको छैन । जनकपुर शुन्य अंकका साथ तालिकाको पुछारमा छ ।
त्यस्तै तीन खेलेको पोखरा अंक तालिकाको छैटौ स्थानमा रहेको छ भने चार खेल खेलिसकेको लुम्बिनी तालिकाको सातौ स्थानमा छ । एनपिएल अन्तरगत हिजो सम्पन्न खेलमा विराटनगर किङ्स र काठमाडौं गुर्खाजले जित हात पारेका छन् । दिनको दोस्रो खेलमा विराटनगर किङ्सले कर्णाली याक्सलाई तीन विकेटले पराजित गर्दै तेस्रो जीत निकालेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा कर्णालीले दिएको १ सय ६१ रनको लक्ष्य विराटनगरले १९ ओभर ५ बलमा पुरा ग¥यो ।यसअघि कर्णालीले निर्धारित २० ओभरमा मात्र ३ विकेट गुमाएर १ सय ६० रनको चुनौतीपूर्ण योगफल तयार गरेको थियो ।
हिजो नै भएको पहिलो खेलमा काठमाण्डु गोर्खाजले चितवन राइनोजलाई ५३ रनले पराजित गरेको गरेको थियो । त्रिवि क्रिकेट मैदानमा काठमाण्डुले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको चितवन १७ ओभर २ बलमा ८९ रनमा अलआउ भयो । चितवनका लागि देव खनाल र रवि बोपाराले समान २१–२१ रन बनाए । शोहिल तन्विरले १८ रन बनाउदा अन्य ब्याटरले दोहोरो अङ्क रन पनि बनाउन सकेनन् ।
बलिङतर्फ काठमाण्डुका रसिद खानले सर्वाधिक ३ विकेट लिए । कप्तान करण केसी, शाहव आलम, मिलिन्द कुमारले २–२ विकेट र सन्तोष यादवले एक विकेट लिए । टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डु १९ ओभर ४ बलमा १ सय ४२ रन बनाएको थियो ।
काठमाण्डुका लागि जोन सिम्पसोनले सर्वाधिक ६० रन बनाएका थिए । जोन र मिलिन्दले चौथो विकेटका लागि ९८ रनको साझेदारी गरे । बलिङतर्फ चितवनका सोहिल तन्विरले ४ विकेट लिए । रञ्जित कुमार र कमलसिंह ऐरीले दुई दुई तथा रवि बोपाराले एक विकेट लिए ।






