महेश श्रेष्ठ र डा. बद्री केसीको अलग अलग नेतृत्वमा रहेका गैर आवासीय नेपाली संघ एनआरएनबीच आज एकता सम्बन्धी सहमतिमा हस्ताक्षर भएको छ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा श्रेष्ठ र केसीले एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
मुलुकमा फेरिएको परिस्थितिबीच दुवै संस्थाको नेतृत्व दश बुँदे सहमति गर्दै एकताबद्ध हुन तयार भएको हो । महाधिवेशनसम्म श्रेष्ठ र केसीको संयुक्त नेतृत्व रहने, पूर्व सबै कार्य समितिहरूका अभिलेख राखिने, १२ औं महाधिवेशनमा सहमतिमा नेतृत्व चयन गर्ने प्रयास गरिने लगायतका समेत सहमति भइसकेको छ।
एकतापछि फेब्रुअरी महिनाभित्र १२ औं महाधिवेशन हुने, महाधिवेशन तयारीका लागि ११ सदस्यीय स्टेरिङ कमिटी बन्ने, निर्वाचन र मोनिटरिङ समिति बन्ने लगायतका सहमति भएको छ।






