नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले प्रत्यक्ष निर्वाचित प्रणाली शासन व्यवस्थाका पक्षधरहरूले सो मुद्दालाई घोषणापत्रमा उल्लेख गरेर चुनावमा जान आग्रह गरेकी छन् । सामाजिक संजालमार्फत उनले प्रत्यक्ष निर्वाचित कार्यकारी र संविधान संशोधन गर्नका लागि ड्राफ्ट बोकेर हिड्नुको अर्थ नभएको भन्दै यीनलाई चुनावी मुद्दा बनाएर जनतामा जान आग्रह गरेकी छन् ।
उनले भनिन् – ‘हेक्का रहोस, देश भनेको जादुको छडीले चल्ने चीज होइन। देश चलाउनका लागि विधिको शासन, लोकतान्त्रिक मूल्य मान्यता र जनपक्षीय सहभागिताको आवश्यकता पर्छ। उल्लिखित मुद्दाहरूको विषयमा व्यापक छलफल हुनु जरूरी छ ।’
संयोजक बमले आफू संविधानको पुनरवलोकनको पक्षमा भए पनि त्यसका लागि जनादेश चाहिने उल्लेख गरेकी छन् । उनले लेखेकी छन् – ‘हामी संविधान पुनरावलोकनको पक्षमा नै छौ तर त्यसका लागि जनादेश जरूरी छ। हामी लोकतान्त्रिक विधीलाई मान्दछौं। संविधान संसोधन गर्न चाहने वा प्रत्यक्ष निर्वाचित प्रणाली राख्न चाहने जो कोही हुनुहुन्छ, तपाईहरू चुनावी मैदानमा घोषणापत्रमा नै उल्लेख गरेर भोट माग्न सक्नुहुनेछ र यी विषयहरूलाई परीक्षण गर्दै जनादेश लिएर आउन सक्नुहुन्छ। त्यो नै सबैभन्दा लोकतान्त्रिक उपाय हो ।’
उनले संक्रमणकालीन समयमा अनावश्यक हस्तक्षेप गर्न खोज्नेहरूलाई होसियार हुन पनि चेतावनी दिएकी छिन्। देशलाई अनिश्चिततातर्फ धकेल्न खोजे आफूहरूले विरोध गर्ने उनले बताइन्।






