मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले आज शपथ लिने भएका छन् । मन्त्रालयको भागवण्डामा सत्ता समर्थित दलहरुबीच सहमति बनेसँगै मुख्यमन्त्री यादवको सपथ तय भएको हो ।
दलहरुबीच हिजो भएको बैठकले मन्त्रालय बाँडफाँड टुङ्याएको थियो । जसअनुसार जसपा नेपालले सभामुखसहित तीन मन्त्रालय पाउने भएको छ । यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लाई पनि मधेश सरकारका तीन मन्त्रालय दिने बताइएको छ । मुख्यमन्त्री पाएको नेपाली कांग्रेसले दुई मन्त्रालय पाउनेछ । त्यस्तै जनमत पार्टीले पनि दुई मन्त्रालय पाउने सहमति बनेको बताईएको छ । मुख्यमन्त्रीमा विश्वासको मत नपाएको लोसपा नेपालले पनि दुई मन्त्रालय पाउने भएको छ ।
संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले मंसिर १७ गते राजीनामा दिएपछि कांग्रेस दलका नेता यादव मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । गत कार्तिक २३ गते राति संविधानको धारा १६८ को ३ बमोजिम एमालेका यादव मुख्यमन्त्री नियुक्त हुँदा सातदलीय गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन र विश्वासको मत पाउन नसके संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै अर्को सरकार गठन गर्न आदेश दिएको थियो ।
तर विश्वासको मत लिनसक्ने अवस्था नरहेपछि यादवले राजीनामा दिएपछि कांग्रेस दलका नेता यादवले कांग्रेससहित जसपा नेपाल, जनमत, तत्कालीन नेकपा माओवादी केन्द्र, लोसपा र तत्कालीन एकीकृत समाजवादीका ७७ सांसदहरूको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो ।






