आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु हुदैछ। समानुपातिक प्रणालीतर्फ सहभागी हुने दलहरूले बिहान १० बजेदेखि मंगलबार दिउँसो ४ बजेसम्म निवेदन दिनुपर्नेछ।
समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिने राजनीतिक दलको सूची मङ्सिर २४ गते प्रकाशित हुनेछ। आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १० देखि दिउँसे ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा छ। यस्तै, आगामी माघ ३० गते भने समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशित हुने कार्यक्रम रहेको छ ।
कुल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० सदस्य निर्वाचित हुने प्रावधान छ। प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ। प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ।






