नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको आसन्न १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने संकेत गरेका छन् । आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् पार्टी सभापतिका लागि उम्मेदवारी दिने आशय सार्वजनिक गरेका हुन् ।
उनले महाधिवेशनमा सभापति पदप्रति आफ्नो आकांक्षा स्पष्ट रहेको उल्लेख गर्दै दृष्टिकोण पनि उतिनै निर्धारित रहेको उल्लेख गरेका छन् । “साथीहरूको जिज्ञासा मेरो धारणा । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित,” नेता भण्डारीले लेखेका छन् ।
साथीहरुको सुझाव, समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्न पर्ने जनाउँदै देश जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकताअनुसार आफू अघि बढ्न तयार रहेको भण्डारीको भनाइ छ ।
गत महाधिवेशनमा डा. शेखर कोइरालाको समूहबाट उपसभापतिका उम्मेदवार बनेका भण्डारी पराजित भएका थिए । गत महाधिवेशनबाट उपशभापति बनेका पूर्ण बहादुर खड्का र धनराज गुरुङमध्ये खड्का अहिले कार्यबाहक सभापति छन् । आसन्न १५ महाधिवेशनमा नेताहरु डाक्टर शेखर कोईराला, महामन्त्री गगन थापा , नेता कल्याण गुरुङले पनि सभापतिको उम्मेदवारी घोषणा गरीसकेका छन् । प्यानल नै बनाएर निर्वाचनमा जाने तयारीसहित उनीहरु आन्तरीक तयारीमा छन् ।
उता सभापति शेरबहादुर देउवा निकट नेताहरु पनि सभापतिको उम्मेदवार बन्ने तयारीमै छन् । मूलत सभापति देउवाले आफ्नो पार्टी उत्तराधिकारी कसलाई बनाउँछन् भन्ने स्पष्ट नआईसकेका कारण ब्यक्तिगत रुपमा उम्मेदवारी घोषणा हुन सकेको छैन ।
सभापति निकटमध्ये कार्यवाहक सभापति खड्का , पूर्वमहामन्त्री डा. शशांक कोईराला , कृष्ण प्रसाद सिटौला मध्येबाट उम्मेदवार तय हुने सम्भावना छ । ती मध्येपनि पूर्व महामन्त्री कोईरालालाई उम्मेदवार बनाउने सवालमा देउवा लचक र सकारात्मक बनेको बुझिन्छ । तर अहिले नै उम्मेदवारका विषयमा बोल्दा संस्थापन समूहमा आउन सक्ने विग्रहका कारण सभापति देउवा मुखरित हुन सकेका छैनन् ।






