नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहमा रहेका चार नेतालाई छलफलका लागि बोलाउनुभएको छ । आज बिहान ९ बजे बैठक बस्ने गरी देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाउनुभएको हो । महाधिवेशनको कार्यतालिका, विधान मस्यौदा समितिलगायतका विषयमा छलफल गर्न सभापति देउवाले ४ नेतासँगको छलफल तय गरेको बताईएको छ ।
लामो रस्साकस्सीपछि कांग्रेस केन्द्रीय समिति बैठकले यही पुसको २६ देखि २८ सम्म महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको थियो । कार्यतालिका व्यवहारिक नभएको भन्दै नेताहरूले कार्यान्वयन नहुने आंशका व्यक्त गर्दै आएका छन् ।
तालिका अनुसार यही पुस १६ वडा अधिवशेन गरेर २६ गते केन्द्रीय महाधिवेशन गर्ने कार्यक्रम छ । तर तयारी भने सोही मितिमा महाधिवेशन गर्नेगरी भईरहेको छैन । जसका कारण महाधिवेशनको कार्यतालिका प्रभावित हुने पक्कापक्की जस्तै भएको छ । महाधिवेशनका लागि निर्वाचन र क्रियाशील सदस्यता छानबिन समिति गठन भए पनि हालसम्म विधान मस्यौदा समिति बन्न सकेको छैन ।






