प्रतिनिधिसभाको पुनस्र्थापना माग गर्दै कांग्रेससहितका दलले दर्ता गरेको पुरक रिटमा आजका लागि पेशी तोकीएको छ । कांग्रेसका ६५ र अन्य दलका तीनसहित ६८ सांसदले गरेको हस्ताक्षरसहितको पूरक रिटमा आजको लागि पेसी तोकिएको हो । ति सांसदहरूले पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई हस्ताक्षरसहितको वारेस दिई रिट दर्ता गराएका थिए ।
कांग्रेसका तर्फबाट सुरुमा मङ्सिर २३ गते ८ सांसदले रिट दर्ता गरेकोमा थप ६० सांसदको हस्ताक्षरसहित पुरक दर्ता गरिएको थियो । कांग्रेसबाहेक अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले पनि हस्ताक्षर गरेका छन् ।
एमालेका तर्फबाट ७५ सांसदहरूले मङ्सिर १० गते नै प्रतिनिधिसभा पुनस्र्थापना माग्दै सर्वोच्चमा हस्ताक्षर बुझाइसकेका छन् । कांग्रेससहितका अन्य दलले पनि हस्ताक्षर बुझाएपछि पुनस्र्थापनाको पक्षमा विघटित प्रतिनिधि समा रहेका सांसदहरुको बहुमत संख्या पुगेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा रहेका मध्ये हस्ताक्षर गर्नेको संख्या १४३ पुगेको हो ।
एमालेले संसदीय दलको बैठकबाट निर्णय गरेर संस्थागत रूपमा सर्वोच्चमा रिट दायर गरेको थियो भने विटित प्रतिनिधि सभामा कांग्रेसका मुख्य सचेतक रहेका श्याम घिमिरेकोे नेतृत्वमा हस्ताक्षर संकलन गर्दै रिट दर्ता गरिएको थियो । कांग्रेसका तर्फबाट महामन्त्री गगन थापा निकटका सांसदले भने हस्ताक्षर गरेका छैनन् ।






