नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महामन्त्री गगन थापाले आफ्नो समुहबाट अलग भएको स्वीकार गर्दै उनी आफूसँग नहुँदा त्यसको विकल्पमा अरू कुनै नेता पनि आउन सक्ने बताएका छन् । नागरिक पत्रिकाको नागरिक फ्रन्टलाइन संवादमा कुराकानी गर्दै नेता कोइरालाले पार्टीभित्र टिममा नेता आउने–जाने क्रम स्वाभाविक रूपमा चलिरहने बताए ।
डा कोइरालाले टिम छाड्नुलाई आफूले स्वाभाविक रूपमा लिएको प्रतिक्रिया दिए । १४ औँ महाधिवेशनमा नेता कोइराला सभापति लड्दा उनकै टिमबाट गगन महामन्त्रीका उम्मेदवार थिए। अहिले १५ औँ महाधिवेशनमा दुवै नेता सभापतिको तयारीमै छन्। कोइरालाले आफू सभापतिको स्वाभाविक उम्मेदवार रहेको बताउँदै त्यसैको तयारीमा लागिरहेको बताए।
उनले भने – ‘पहिले–पहिलेका महाधिवेशनमा पनि भएका छन्। उहाँ जाँदा शेरबहादुरजीकै टिममा भएका कोही नेता मसँग आउनुहोला । मैले अघिल्लो पटक प्रयास गरेँ, सकिनँ। अहिले त्यो भन्दा राम्रो तयारी गरिरहेको छु।’ यस पटक कोइराला परिवारका अन्य नेताहरू डा. शशांक कोइराला र सुजाता कोइरालाले आफूलाई सहयोग गर्ने उनले दाबी गरे।






