तीन मुख्य राजनीतिक दलका शीर्ष नेताहरु प्रधानमन्त्री सुशीला कार्कीबीच आज बैठक बस्दैछ । सरकारले घोषणा गरेको फागुन २१ को निर्वाचन केन्द्रीत छलफलका लागि प्रधानमन्त्री र शीर्ष नेताबीच छलफल हुन लागेको हो ।
प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त छलफल गर्न लागेका हुन् । छलफल दिउँसो ४ बजे हुने बताइएको छ ।
तीन दलका शीर्ष नेताहरूको समय लिनको लागि नै हिजो आज सञ्चारमन्त्री जगदीश खरेलले शीर्ष नेतृत्वसँग भेट गरेका थिए । भेटमा कुनै पनि नेताले चुनावमा भाग नलिने नभनेको र कांग्रेस सभापति देउवाले त कांग्रेसको प्राथमिकता पुनस्थपाना नभएर चुनाव नै हो भनेको सञ्चारमन्त्री खरेलले जानकारी दिए ।
प्रधानमन्त्री कार्कीले चुनावको वातावरण बनाउनको लागि निरन्तर दलसँग संवाद गर्दै आएकी छन् । गत बुधवार राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाईमा तीन दलका शीर्ष नेताहरूसँग प्रधानमन्त्रीको छलफल भएको थियो । त्यही बैठकमा अर्को शीर्ष बैठक बालुवाटारमा बस्ने सहमति बनेअनुरुप आज छलफल हुन लागेको हो ।






