फ्लोरिडामा भएको युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँगको भेटपछि अमेरिकी राष्ट्रपति डोलाल्ड ट्रम्पले युक्रेन संकट समाधानका लागि ९५ प्रतिशत शर्तहरूमा सहमति जुटेको बताएका छन् । ट्रम्पले यो भेटवार्तापछि युक्रेन संकट अन्त्यका लागि शान्ति सम्झौताको धेरै नजिक, सायद निकै नजिक पुगेको विश्वास व्यक्त गरेका हुन् ।
जेलेन्स्कीसहितको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले दुई राष्ट्रपतिले बैठकका क्रममा नाटो र युरोपेली संघका नेताहरूसहित अन्य युरोपेली नेताहरूसँग पनि कुराकानी गरेको जानकारी दिए । ट्रम्पले शान्ति योजनाका करिव ९५ प्रतिशत सर्तहरूमा सम्बन्धित पक्षहरूबीच सहमति भइसकेको भए तापनि अझै एक वा दुईवटा अत्यन्तै जटिल मुद्दाहरू बाँकी रहेको उल्लेख गरे ।
यता राष्ट्रपति जेलेन्स्कीले पनि युक्रेनको सुरक्षा ग्यारेन्टीका विषयमा अमेरिका, युरोप र युक्रेनबीच लगभग १०० प्रतिशत सहमति भइसकेको दाबी गरे । जेलेन्स्कीले आफूहरूले शान्ति रूपरेखाका सबै पक्षहरूमा गहन छलफल गरेको पनि उल्लेख गरेका छन् ।






