भद्रपुर विमानस्थलमा शुक्रवार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक सदस्यसहित सात यात्रु घाइते भएका छन् । काठमाडौंंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ ३०० मिटर ओभर रन भई जहाज घाँसे झाडी र माटोमा भासिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।
जहाजमा ५१ जना यात्री, चारजना चालक दलका सदस्य र एक जना विमानका इन्जिनियर थिए । तीमध्ये ललितपुर–४ निवासी को–पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठ र अन्य ६ जना यात्रु घाइते भएका छन् । घाइतेलाई नेपाल प्रहरीको उद्धार टोलीले तत्कालै भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलमा उपचारका लागि पु¥याईएको थियो ।टाउको र अनुहारमा चोट लागेका को–पाइलट श्रेष्ठको अस्पतालमा उपचार भइरहेको छ भने अरु ६ जना जना घाइते सामान्य उपचारपछि ‘डिस्चार्ज’ भएर घर फर्किसकेको प्रहरीले जनाएको छ ।






