राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी(जसपा) नेपालबिच तालमेल हुने भएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)सहित तालमेल गर्ने प्रयास गरिएपनि अन्तत तीन दलबीचमात्रै चुनावी तालमेल हुने भएको हो । तीन दलबीचको सहमति अनुसार कांग्रेसले ९, एमालेले ८ र जसपा नेपालले १ सिट लिनेछन् । जसपा नेपालबाट महन्थ ठाकुरलाई उम्मेदवार बनाउने पनि टुंगिएको नेताहरूले बताएका छन् ।
चुनावी तालमेल र भागबण्डा टुङ्गीएसँगै नेपाली कांग्रेसले पनि राष्ट्रिय सभा निर्वाचनका लागि ९ उम्मेदवार टुंगो लगाएको छ । आज बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले केही बेरअघि ९ जना उम्मेदवारको टुंगो लगाएको हो । जसअनुसार कोशी प्रदेशबाट सुनिल बहादुर थापा, मधेस प्रदेशबाट धमेन्द्र पासवान र रञ्जित कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकी प्रदेशबाट जगत तिमल्सिना, लुम्बिनी प्रदेशबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
निर्वाचनका लागि नेकपा एमाले र जसपासँग तालमेल गर्ने निर्णय भएसँर्ग कांग्रेसले आफ्ना तर्फबाट ९ जना उम्मेदवारको नाम टुङ्गो लगाएको हो । यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सिन्धुपाल्चोकका प्रेम साकोटालाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको छ। सापकोटालाई वाग्मती प्रदेशबाट नेकपाले उम्मेदवार बनाएको हो ।
नेकपा एमालेले पनि आफ्ना तर्फबाट उम्मेदवारको टुंगो लगाएको छ । एमाले स्रोतका अनुसार लुम्बिनी प्रदेशबाट नेतृ रामकुमारी झाँक्री, कोशीमा रोशनी मेचे, बागमतीमा डा. प्रेमकुमार दङ्गाल, गण्डकीमा सम्झना देवकोटा, कर्णालीमा मिनासिंह रखाल र सुदूरपश्चिममा लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय भएको हो । बाँकी अन्य नामबारे पनि एमालेले निर्णयको अन्तिम तयारीमा छ । दलहरुबाट निर्णय भएका उम्मेदवारहरुले सम्बन्धत प्रदेशहरुमा आजै उम्मेदवारी दर्ता गर्दैछन् ।
आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगको कार्यतालिका अनुसार आज बिहान १० देखि ३ बजेसम्म उम्मेदवार मनोनयन पत्र दर्ता कार्यक्रम रहेको हो । आयोगका अनुसार भोली बिहान १० देखि ४ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने पुस २७ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय रहेको छ । २७ गते नै आयोगले अन्तिम नामावली प्रकाशित गनछ । राष्ट्रिय सभामा अगामी फागुन २० गते पदावधि सकिने १८ जना सदस्यका लागि आयोगले निर्वाचन गर्न लागेको हो ।






