संस्थापन पक्षको असहमतिका बाबजुद आजदेखि नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुँदै छ ।महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आव्हानमा विशेष महाधिवेशन पक्षधरले आयोजना गरेको विशेष महाधिवेशन काठमाडौँस्थित भृकुटीमण्डपमा दिउँसो १ बजे उद्घाटन हुने भएको हो । उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा मञ्च व्यवस्थापन गरिएको छ ।
विशेष महाधिवेशनमा सहभागि हुन आयोजकले शभापति देउवालाई औपचारिक निमन्त्रणा गरेपनि अस्विकार भएको बताईएको छ । त्यस्तै संस्थापन पक्षका अन्य नेताहरुलाई पनि निमन्त्रणा गरिएको छ तर उहाँहरु उपस्थित हुने सम्भावना भने नरहेको जनार्ईएको छ । उद्घाटनअघि उपत्यकाका विभिन्न स्थानबाट आउने ¥यालीलाई निकाल्ने तयारी आयोजकले गरेको छ ।
कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले अध्यक्षता गर्ने विशेष महाधिवेशनमा अन्य राजनीतिक दलका नेतालाई भने आमन्त्रण गरिएको छैन । मुलुकभरबाट विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिमध्ये अधिकांश प्रतिनिधि आइसकेको र केही प्रतिनिधि आउने क्रम जारी रहेको आयोजक समितिले जनाएको छ ।महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरुले एक हजार रुपैया दर्ता शुल्क तिर्नुपर्ने पनि आयोजकले जनाएको छ ।
उद्घाटन शत्रपछि हुने बन्दसत्रमा नीतिगत दस्तावेज प्रस्तुत गर्ने तयारी छ । तर नेतृत्व चयनहुने वा नहुने भन्ने स्पष्ट छैन । विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदा पार्टी औपचारिक रुपमै विभाजन हुनेछ । तर महामन्त्रीद्वय थापा र शर्माले पार्टीलाई विभाजन हुन नदिने बताउँदै आएका छन् । विभाजन हुने स्थितमा महामन्त्री शर्मा महाधिवेशन हलबाटै निस्कने बताईसक्नुभएको छ भने अर्का महामन्त्री थापा बरु विष पिउन तयार भएरै पनि पार्टी नफुटाउने स्पष्टोक्ति दिएका छन् । यो बिचमा विशेष महाधिवेशन रोक्न र पार्टीलाई फुटबाट जोगाउने भन्दै कांग्रेसका शीर्ष नेतृत्वबिच लगातार संवादको प्रयास भएका थिए । तर संवादले सार्थकता पाउन सकेन ।
उता कांग्रेस संस्थापन पक्षले भने विशेष महाधिवेशन माग भएको अवधिभित्रै यसअघि १५औँ नियमित महाधिवेशनको मिति तोकिसकिएकाले यसको औचित्य स्वतः समाप्त भइसकेको जनाएको छ । साथै कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले उक्त विषयमा स्पष्ट पार्दै १५औँ महाधिवेशनको नयाँ मिति आगामी वैशाख २८ देखि ३१ गतेसम्म निर्धारण गरिसकेको जनाएको छ ।यद्यपि नियमित महाधिवेशनको यो मितिका सन्र्धभमा महामन्त्रीद्वय थापा, शर्मा सहमहामन्त्री फरमुल्लाह मन्सुरसहित पाँच नेताहरूले असहमति जनाएका थिए । ती नेताहरुको समर्थनमा विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशनको आयोजना गरेका हुन् ।
संस्थापन पक्षले भने व्यक्तिगत रुपमा पार्टीको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार कोही पदाधिकारी वा सदस्यलाई नभई केवल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको स्पष्ट पारिसकेको छ । कांग्रेस केन्द्रीय कार्यालयका तर्फबट मुख्यसचिव कृष्णप्रसाद पौडेलले निर्देशानुसार भन्दै विज्ञप्तिमार्फत यसरी व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधान विपरीत हुने भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका नेताकार्यकर्तालाई आग्रहसमेत गरेका थिए ।
गत भदौ २३ र २४ गते भएको जेनजी प्रर्दशनपछि कांग्रेसमा नीति र नेतृत्व परिवर्तन हुनुपर्ने भन्दै आवाज उठेको थियो । समेत नेतृत्व परिवर्तनको आवाज उठेको थियो । फलस्वरुप नेताहरु देवराज चालिसे र गुरुराज घिमिरेको अगुवाईमा असोज २९ गते कांग्रेसका ५४ दशमलव ५८ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन मागका साथ केन्द्रीय कार्यालयमा निवेदन दर्ता भएको थियो । त्यसपछि ४९ दिनसम्म बसेको केन्द्रीय समितिको बैठकले यही पुष २६ देखि नियमित महाधिवेशन गनगरि कार्यतालिका ल्याएको थियो । तर कार्यतालिका बमोजिम पुष १६ गते वडा अधिवेशन नै हुन नसकेपछि महाधिवेनको कार्यतालिका प्रभावित बनेको थियो ।
संस्थापन पक्षले महाधिवेशन गर्न नै नचाहेको भन्दै महमन्त्रीद्वय थापा र शर्माले कांग्रेसको विधान पालना गर्दै पार्टीलाई जीवन्त बनाउनका लागि भन्दै विशेष महाधिवेशनमा सहभागी हुन प्रतिनिधिहरूलाई आह्वान गरेपछि कांग्रेस विभाजनको संघारमा पुगेको आशंका आमनागरिकमा बढेको छ । ४० प्रतिशत भन्दा बढी माग भएको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनु कानुनी बाध्यता रहेको भन्दै यो अवस्थामा आईपुगेको उनीहरुको तर्क छ ।






