आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाई गरिएको छ । विश्वकप अघि श्रीलंका र भारतमा अभ्यास शृंखला खेल्ने नेपाली टोलीको नेफाल क्रिकेट संघ (क्यान) ले शनिबार एक कार्यत्रमको आयोजना गरी बिदाइ गरेको हो । नेपाली टोली भोली श्रीलंका प्रस्थान गर्ने छ ।
बिदाइ कार्यक्रममा क्यान सचिव पारस खड्काले नेपाली टोलीलाई विश्वकपका लागि शुभकामना दिर्दै भारतमा गएर समर्थकहरूले पनि साथ दिने आशा ब्यक्त गरे । कप्तान रोहित पौडेलले तयारी निकै राम्रो भएको उल्लेख गर्दै समग्र नेपालीलाई प्राउड फिल गराउने विश्वास ब्यक्त गरे । प्रशिक्षक स्टुअर्ट लले पनि विश्वकपमा राम्रो प्रदर्शन गरेर सारा नेपालीलाई खुसी दिने बताए ।

नेपाली क्रिकेट टोलीले विश्वकपको समूह चरणमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग खेल्ने तालिका छ । टी-२० विश्वकपमा खेल्नुअघि नेपाली राष्ट्रिय टोलीले श्रीलंकामा ३ र भारतमा २ अभ्यास खेल खेल्ने भएको छ। तालिकाअनुसार नेपालले श्रीलंका ‘ए’ टीमसँग श्रीलंकामै आगामी जनवरी २०, २२ र २४ मा अभ्यास खेल खेल्ने छ। त्यसपछि टोली भारत गई जनवरी २९ र ३१ मा मुम्बई क्रिकेट असोसिएशन प्रेजिडन्ट ‘एक्सआई’ टोलीसँग २ खेल खेल्ने छ ।
विश्वकपअन्तर्गत नेपालका सबै खेलहरू मुम्बईमै हुने छन्। विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपालको टोली घोषणा भइसकेको छ ।






