आजदेखि काठमाडौंमा आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटका खेल सुरु हुँदैछन् । नेपालले गर्न लागेको सबैभन्दा ठूलो प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । क्यानले शनिवार साँझ पत्रकार सम्मेलन गर्दै सबै टिमका कप्तानले प्रतियोगिताका लागि तयार रहेको पनि जनाएको छ ।
सोही अवसरमा बोल्दै नेपाली क्रिकेट टिमकी कप्तान इन्दु बर्माले प्रतियोगिताका लागि आफुहरु उत्साहित रहेको बताइन् । नेपालमा आयोजना भएको प्रतियोगिताले आउने पुस्तालाई पनि प्लाटफर्म सेट गर्न मद्दत पुग्ने कप्तान इन्दुले बताइन् । यस्तै अन्य टिमका कप्तानले पनि अभ्यास खेलमा कन्डिशन बुझ्ने अवसर पाएको र प्रतियोगिताका लागि तयार रहेको बताए । प्रतियोगिताको पहिलो खेलमा आज नेपालले बिहान नौ बजे थाइल्याण्डसँग खेल्दैछ ।
छनोट प्रतियोगितामा तीन टेस्ट राष्ट्र बंगलादेश, आयरल्यान्ड र जिम्बावे सहित १० राष्ट्र सहभागी हुँदै आगामी विश्वकपमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित प्रतिस्पर्धा गर्नेछन् । यस छनोटबाट चार टोलीले सन् २०२६ को जुनदेखि इङ्ल्यान्ड र वेल्समा संयुक्त रूपमा आयोजना हुने आइसिसी महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।
नेपाल समूह ‘बी’ मा रहेको छ, जहाँ नेदरल्यान्ड, जिम्बावे, थाइल्यान्ड र स्कटल्यान्ड छन्। समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन्। सुपर सिक्सबाट शीर्ष चार राष्ट्रले विश्वकपमा स्थान बनाउनेछन् ।






