दाजुभाइ दिदीबहिनीहरू, सबैमा मेरो अभिनन्दन ।
हामी गाउँमा डर र त्रासले बस्ने निमुखासँग भेटेर उनीहरूको भावना बुझौं भनेर नै देशको विभिन्न भागमा घुम्दै छौं । तर बीस वर्षदेखि तपाईंहरूले सुन्दै आउनु भएका कुराबाहेक तपाईंहरूको कानमा अरू कुरा वा प्रजातन्त्रको कुरा नपरोस् भनेर अहिलेको सरकार भय–त्रास देखाएर, झुट्टा प्रचार गरेर, बाटो रोकेर मेरो कुरा जनसमक्ष नपुगोस् भन्ने प्रयासमा लागेको छ । त्यति हुँदा पनि आज हाम्रो कुरा सुन्न यत्रो सङ्ख्यामा तपाईंहरू यहाँ आउनुभएको छ । तपाईंहरू त्यही बीस वर्षसम्म सुनिरहनु भएको कुरा सुन्न आउनुभएको होइन । हामीहरू पनि नयाँ कुरा भन्नआएका छौं । हामी बीस वर्षदेखि जुन व्यवस्था छ, त्यसैको विरोधमा बोल्न आएका छौं । त्यस व्यवस्थाले हामीलाई बीस वर्षसम्म गरिब बनायो । यो बीस वर्षमा ठूलो पदमा पुगेका दुई–चार जनाबाहेक अरू कसैको भलाइ भएन ।
मलाई गाउँको सबैभन्दा ठूलो चिन्ता छ । हाम्रो नेपाल गाउँमा बस्दछ, बजारमा, सहरमा र ठूला–ठूला दरबार वा अट्टालिकामा बस्दैन । त्यसो हुनाले हामी घुलोमा बस्ने, मेहनत गर्ने ती ग्रामीण जनता वा गाउँवासीको भलाइ कसरी हुन्छ भन्ने वर्गको हित गर्दैन भने जस्तोसुकै राम्रो भाषामा लेखिएको भए पनि त्यो संविधान बिन्ता गर्दछौं । संविधानले हामी जुन वर्गको प्रतिनिधित्व गरिराखेका छौं, त्यस मलाई स्वीकार्य छैन ।
म संविधानलाई एउटा त्यस्तो हतियार भन्ठान्छु, जसले जनताको भलाइ पनि गर्न सक्छ, शोषण पनि गर्न सक्छ । २०१७ साल पुस १ गतेदेखि अहिलेसम्म रहेको संविधान तपाई हाम्रो शोषण र दमन गर्ने एउटा त्यस्तै हतियार थियो । पञ्चायती संविधान नामको त्यस हतियारले यो बीस वर्षसम्म हामीलाई गरिब बनायो । यहाँ तपाईंहरू कति सङ्ख्यामा किसान हुनुहुन्छ ?, म तपाईंहरूसँग सोध्न चाहन्छु, यो बीस वर्षमा तपाईंहरूको केही उन्नति भयो ? तपाईंको झुपडीमा केही सुधार अयो ? दुई–चार जनालाई छाडेर आमजनतालाई केही फाइदा भयो ? मलाई लाग्छ – भएन ।
मैले केवल एउटा कुरा मात्र भनें, गाउँमा हलो लिएर झुपडीमा उभिएको किसानको अर्को एउटा तस्बिर अर्कोपट्टि भित्तामा राख्नोस्, जहिले जोसुकै कोठामा पस्दा त्यो किसानको तस्बिर तपाईंहरूको आखाँको सामुन्नेमा रहोस्, त्यसो भयो भने तपाईंहरूले कसको भलाइ गर्ने हो, त्यो बिर्सिनुहुने छैन। कसको निम्ति विकास गर्ने हो, त्यो बिर्सिनु हुनेछैन । यसरी गाउँगाउँमा बस्ने किसानको भलाइलाई सर्वोपरि राखेर योजना तर्जुमा गर्नुपर्दथ्यो ।
किसान भनेका यो देशको नब्बे प्रतिशत जनता हुन् । र, प्रजातन्त्र भनेको पनि त्यही नब्बे प्रतिशत जनता भनेको हो । त्यसो हुनाले मलाई प्रजातन्त्रवादीको साटो किसानवादी भने पनि हुन्छ । प्रजा भन्नेबित्तिकै तिनै किसान हुन् । हाम्रो चाहना के हो भने ती किसान र राजाका बीच एउटा मेलमिलापको वातावरण बनोस् र राजाको हित होस् । राजाको हित भएन भने देश पनि बिग्रेर जान्छ । राजाको हित भन्नुका तात्पर्य किसानको अहित भने होइन । तर अहिले त राजाले किसानलाई अधिकार दिएर त्यसको उपभोग गर्नेबित्तिकै राजाको अहित हुन्छ भन्ने झुट्टो भावना फैलाइएको छ ।
हामी के भन्छौँ भने राजा र किसानको वा जनता र राजाको हित होस्, मेलमिलापबाट यो देश अगाडि बढोस्, राजा नभई देश चल्दैन र प्रजातन्त्र नभई किसानको भलाइ पनि हुँदैन । त्यसैकारण हामी अनेक खतरा हुँदाहुँदै पनि मेलमिलापको आधारबाट देशलाई अगाडि लिएर जाऔं भनेर देशभित्र आयौँ । त्यसबाट चार वर्षयता धेरै प्राप्ति पनि भयो । म जेलमा बसेको मान्छे, मलाई सात–सातवटा मुद्दा लागेको थियो र ती प्रत्येक मुद्दामा मलाई फाँसी हुने सम्भावना थियो तर आज म स्वतन्त्र भएर तपाईंहरूसँग भेट गरिरहेको छु । तपाईंहरूले पनि मेरा कुरा सुन्न पाइरहनुभएको छ । यसरी वातावरण केही खुकुलो त भयो । तर संविधानको प्रश्न आउँदा हामीमाथि उही पुरानै व्यवस्था अझै लादिएको छ । यो व्यवस्थाले बीस वर्षदेखि देशलाई रसातलमा पुरÞ्याउँदै लग्यो । गरिबलाई झन गरिब तुल्यायो । हामी यो व्यवस्थाका विकल्पका रूपमा छौं । त्यस विकल्पको पनि बोली सुन्नुहोस् भनेर म तपाईंहरूको अगाडि उभिएको छु ।
म ठूला–ठूला महल र अट्टालिकामा बस्नेलाई जनता भन्दिनं । त्यस्ता मोटरमा हिँड्ने, राम्रो लाउने र राम्रो खाने मानिस त एक प्रतिशत पनि छैनन् । जनता त गाउँमा बस्छन् । तिनीहरूको भलाइ कुन राजनीतिक पद्धतिमा हुन्छ ?
तपाईंहरूले हाम्रो कुरा बीस वर्षसम्म सुन्न पाउनुभएन । यो बीस वर्षबीच अकै कुरा सुन्नुभयो, अर्कै भाषा, अर्कै बोली सुन्नुभयो । तपाईहरूले यो लामो समयमा हामीलाई बिर्सिनुभयो कि ? यो बीस वर्षमा तपाई र हाम्रो सम्बन्ध कस्तो रह्यो ? हामी तपाईहरूको भावनाको प्रतिनिधित्व गर्दछौं, र डर त्रासमा बसेका तपाईंहरूको घांटीमा अड्केको बोली हामी बोल्न सक्छौ । त्यसैले हामी तपाईंहरूसँग भेट गरौं भनेर आएका छौं । संविधानका सम्बन्धमा अर्को कुरा, यो तपाईं किसान दाजुभाइ, दिदीबहिनीहरूलाई दृष्टिगत गरेर बनाइएको संविधान होइन । त्यसैकारण यो प्रजातान्त्रिक पनि छैन । र, यो सविधानले राजाको पनि ठूलो अहित गरेको छ । राजालाई आफ्नै हातमा धेरै अधिकार भएजस्तो को लाग्ला, तर यो संविधान प्रयोगमा आएपछि त केवल कागजको खोस्टोमा मात्र अधिकार रहन्छ ।
म ठूला–ठूला महल र अट्टालिकामा बस्नेलाई जनता भन्दिनं । त्यस्ता मोटरमा हिँड्ने, राम्रो लाउने र राम्रो खाने मानिस त एक प्रतिशत पनि छैनन् । जनता त गाउँमा बस्छन् । तिनीहरूको भलाइ कुन राजनीतिक पद्धतिमा हुन्छ ? तपाईंहरू देशका जनता, किसानहरूको सामु उभिंदा मलाई सधैं एउटा कुरा सम्झना भइरहन्छ । म प्रधानमन्त्री छंदा, २०१६ सालतिरको कुरो हो, त्यस बेला योजना आयोगको बैठक भइरहेको थियो । अब देशमा के–के विकास गर्ने भन्ने छलफल भइरहेको थियो। त्यहाँ भित्तामा महाराजधिराजको तस्बिर पनि थियो । हो। महाराजधिराजको तस्बिर रहनै पर्दथ्यो । त्यहाँ विकासका सम्बन्धमा मेरो राय सोधिंदा मैले लामो भाषण दिइनं ।
मैले केवल एउटा कुरा मात्र भनें, गाउँमा हलो लिएर झुपडीमा उभिएको किसानको अर्को एउटा तस्बिर अर्कोपट्टि भित्तामा राख्नोस्, जहिले जोसुकै कोठामा पस्दा त्यो किसानको तस्बिर तपाईंहरूको आखाँको सामुन्नेमा रहोस्, त्यसो भयो भने तपाईंहरूले कसको भलाइ गर्ने हो, त्यो बिर्सिनुहुने छैन। कसको निम्ति विकास गर्ने हो, त्यो बिर्सिनु हुनेछैन । यसरी गाउँगाउँमा बस्ने किसानको भलाइलाई सर्वोपरि राखेर योजना तर्जुमा गर्नुपर्दथ्यो ।
तर त्यसपछि अहिलेसम्म यहाँ देशको उत्थान गर्न वा विकास गर्न भनेर अर्कै व्यवस्था कायम रह्यो । तर त्यसबाट देशको विकास त भएन भएन, आज देशको अस्तित्व नै खतरामा पुगेको छ । महाराजधिराजले पनि फागुन ७ गतेको सन्देशमा यो देश ठूलो खतरामा पुगेको कुरा हुकुम भएको छ । म प्रधानमन्त्री छंदा पनि त्यही खतरा छ भनेर देशलाई खतरामा उभ्याउने त्यो २०१७ साल पुस १ गतेको कारबाही यसमा पूर्ण जवाफदेही छ । र, यो खतरालाई हटाउने हो भने त्यस स्वत चालिएका कदम बिस्तारै बिस्तारै हटाउँदै जानुपर्दछ । आज बीस वर्षसम्म औषधीमुलो गरिरहेको रोगबाट रोगी मर्न थाल्यो भनेर फेरि पनि त्यही ओखती कारणविना अचानक हटाइयो । अब फेरि हामी त्यही २०१५ सालको व्यवस्थामा हिंदा अब देशको रक्षा हंदैन । बीस वर्ष पहिले जुन व्यवस्था थियो, त्यसलाई जानुपर्दछ । त्यसो गर्ने हो भने हाम्रो देश बच्छ, नत्र बच्दैन ।
तपाईहरूले हामीलाई बीस वर्षपछि घर फर्केको परिवारको एउटा सदस्यलाई जस्तै जुन स्नेह र सत्कार दिनुभयो, त्यही स्नेहको आधारमा हामी राजनीति गर्दछौं । हामी जबसम्म बाँच्छौँ, तबसम्म तपाईहरूको र यो देशमा प्रजातन्त्रको हितको पक्षमा रहिरहनेछौँ ।
जय नेपाल ।
मलंगवा
१७ फागुन २०३७
(स्रोतः विश्वेश्वरप्रसाद कोइरालाःआधारभूत संकलन)






