काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतका संसदीय समितिहरूको सभापति चयन प्रक्रियालाई ध्यानमा राख्दै राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना उम्मेदवारहरूको सूची टुंग्याएको छ ।
आज बसेको संसदीय दलको बैठकले समितिहरूको नेतृत्वका लागि आवश्यक उम्मेदवारहरूको नाम अन्तिम रूप दिएको हो । सो निर्णयसँगै संसदीय समिति सभापति प्रतिस्पर्धामा पार्टी औपचारिक रूपमा प्रवेश गरेको छ ।
बैठकले सार्वजनिक लेखा समितिको सभापति पद भने परम्परा अनुसार प्रमुख प्रतिपक्षी दलका लागि छोडिने व्यवस्था स्वीकार गरेको जनाएको छ । यसअनुसार उक्त समितिको नेतृत्व प्रतिपक्षी दलको दायित्व रहने संसदीय अभ्यासलाई निरन्तरता दिइएको छ ।






