काठमाडौँ – नेपाली काँग्रेसको आन्तरिक आधिकारिकता विवादसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ निरन्तर चलिरहेको छ । पार्टीको १५औँ महाधिवेशनसम्बन्धी कार्यतालिका स्थगनको मागसहित दायर रिटमाथि आज पनि बहस अघि बढाइएको हो ।
न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा विचाराधीन उक्त मुद्दामा हाल विपक्षी पक्षका कानुन व्यवसायीहरूले आफ्नो तर्क प्रस्तुत गरिरहेका छन् । सोही क्रममा पार्टीका उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल इजलासमा उपस्थित भएका छन् ।
टी–ब्रेकपछि शर्मा र भुसालले आफ्नो तर्फबाट बहस गर्ने कार्यक्रम तय गरिएको छ । दिउँसो साढे ३ बजेसम्म विपक्षी पक्षका वकिलहरूको बहस सकिएपछि जवाफी बहस सुरु हुने अदालत स्रोतले जनाएको छ । कानुन व्यवसायीहरूका अनुसार, बहस सम्पन्न भए लगत्तै आजै आदेश आउने सम्भावना पनि रहेको छ ।
यसअघि हिजो रिट निवेदक पक्ष तथा निर्वाचन आयोग का प्रतिनिधिहरूले अदालतमा आफ्नो धारणा प्रस्तुत गरेका थिए । साथै सरकारी वकिलले समेत बहस गरेका थिए ।
यस विवादमा विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई आधिकारिकता दिने निर्णयविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले रिट दायर गरेको हो । सोही मुद्दा विचाराधीन रहँदै १५औँ महाधिवेशनको कार्यतालिका र सदस्यता खुलाउने निर्णयलाई लिएर तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का ले अर्को निवेदन दायर गरेका छन् ।






