सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको छ । न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशनलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै फैसला सुनाएको हो ।
फैसलासँगै विशेष महाधिवेशनलाई मान्यता दिन नहुने शेरबहादुर देउवा समूहको रिट खारेज समेत भएको छ । सर्वोच्चबाट थापा नेतृत्वको समितिलाई आधिकारीकता प्राप्त भएसँगै तीन महिनादेखि जारी कांग्रेसको आधिकारिकता विवाद कानुनी रुपमा टुंगिएको छ।
गत पुस अन्तिम साता विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा निर्वाचित गर्दै नयाँ कार्यसमिति चयन गरेपछि तत्कालिन सभापति देउवाको पक्षबाट कार्यबाहक सभापति पूर्णबहादुर खड्काले गत माघ ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
रिट निवेदनमा नेपाली कांग्रेसको विधान र प्रचलित कानुन विपरीत बोलाइएको विशेष महाधिवेशन अवैध रहेको जिकिर गरिएको थियो । यद्यपी गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा भने गगन थापाकै हस्ताक्षरमा वितरण भएको टिकट लिएर कांग्रेस उम्मेदवारहरु चुनावमा गएका थिए ।
निर्वाचन आयोग, नेपाली कांग्रेस पार्टी कार्यालय र सभापति गगन थापाले लिखित जवाफ पेस गरेपछि चैत २१ का लागि पेसी तोकिएको थियो । उक्त पेसी सरेर बिहीबारका लागि तय भएको थियो । बिहीबार सुनुवाइ नसकिएपछि यो रिटमा हिजो सुनुवाइ भएको थियो ।
सर्वोच्चको फैसलासँगै विशेष महाधिवेशनबाट चुनिएको अहिलेको कार्यसमितिले गर्ने कामकारवाहीले निरन्तर मान्यता पाउनेछ ।






