प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने निर्णय कुनै पार्टीविरुद्धको लडाई नभएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्री शाहले देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयासस्वरुप सरकारले कदम चालेको बताएका हुन् ।
दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्ने, न कर्मचारीको सम्मान जोगिने भन्ने तर्क राख्दै शाहले विगतको भोगाईबाट स्पष्ट निर्णय आवश्यक रहेको शाहले स्पष्टोक्ति दिएका छन् । शाहले लेखेका छन्– “विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन।कर्मचारीले विधि खोजून्, नेताको छहारी होइन।हामी चाहन्छौं विद्यार्थीले राजनीति सिकून् तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति; कर्मचारीले जनताको सेवा सिकून् , कुनै दलको होइन।यो कुनै पार्टीविरुद्धको लडाइँ होइन ।”
शाहले राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने कुरा संगठन बनाउन नसकेर गरेको होइन पनि भनेका छन् । उनले लेखेका छन्–“चाहने हो भने आजकै दिनमा ठूला विद्यार्थी र कर्मचारी संगठन बनाउन सक्छ ।”
शाहले विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिक्न र कर्मचारीले जनताको सेवा सिक्नुपर्नेमा जोड दिएका छन् । शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने जनताको चाहना अनुरुप अध्यादेशमार्फत यी विकृतिहरू हटाएको शाहको दाबी छ ।






